७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कन्फेडेरेसन अफ एसियन जर्नालिस्ट् युनियन्सकाे उपाध्यक्षमा नेपालका अशोक सिलवाल


२३ कात्तिक, कोलम्बो । श्रीलंकाको राजधानी कोलोम्बोमा कन्फेडेरेसन अफ एसियन जर्नालिस्ट युनियन्स् (काजु)को औपचारिक घोषणा गरिएको छ । कन्फेडेरेसनमा प्राथमिक रुपमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकारको प्रतिनिधित्व रहेको छ । श्रीलंकाली राजधानी कोलम्बोमा २५ अक्टोबरमा सम्पन्न श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए) को ६४औं वार्षिक सम्मेलनका क्रममा केही बर्षदेखि निष्क्रिय रहेको सार्क सदस्य राष्ट्रका पत्रकारहरुको प्रतिनिधी संस्था काजुलाई एसएलपिएको अगुवाइमा ब्युँताइएको हो । सो सम्मेलनमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकारको सहभागिता थियो ।

१९७० को दशकको प्रारम्भतिर भेट्रान श्रीलंकाली पत्रकार स्वर्गीय डिएफ कारियाकार्वानाको ब्रेनचाइल्डको रुपमा स्थापना भएको यो संस्थाले यस क्षेत्रका पत्रकारहरुले सामना गरिरहेका साझा मुद्दालाई सम्बोधन गर्ने उद्देश्य बोकेको छ । नवनियुक्त अध्यक्ष मुदिता कारियाकार्वानाले कन्फेडेरेसनका सदस्यहरु संस्थालाई दक्षिण एसियाली पत्रकारको साझा मञ्च बनाउन यसलाई पूर्ण रुपमा क्रियाशील बनाउन प्रतिबद्ध रहेको बताए । कारियाकार्वाना एसएलपिएका समेत अध्यक्ष हुन् ।

उद्घाटन बैठकमा बोल्दै कन्फेडेरेसनका नवनियुक्त महासचिव तथा भारतीय पत्रकार परमानन्द पाण्डेले यस क्षेत्रका पत्रकारको चुनौती समान रहेको बताए । पाण्डे इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे) का महासचिव हुन् । कन्फेडेरेसनका नवनियुक्त उपाध्यक्ष नेपालका अशोक सिलवालले दक्षिण एसियाका पत्रकारको समस्या समान रहेकोले समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए । स्वतन्त्र पत्रकार सिलवाल लाङटाङ सद्भावना दूत समेत हुन् । कार्यक्रममा रोजगारी सुनिश्चितताको अभाव र हचुवा बर्खास्तगीलाई यस क्षेत्रका पत्रकारको साझा समस्याको रुपमा चित्रण गरिएकोे थियो ।

सार्क मुलुकका पत्रकारहरुको संगठन यो कन्फेडेरेसन पूर्ण सञ्चालनमा आएपछि हरेक मुलुकमा च्याप्टर खुल्ने उपमहासचिव कुरुलु कोजाना कारिवाकार्वानाद्धारा जारी विज्ञप्तिमा बताइएको छ । प्रमुख संरक्षक कलाकिर्थी इड्विन आरियादाशा श्रीलंका र संरक्षक बीभी मल्लिकार्जुना (भारत ) रहेको काजुमा अध्यक्ष मुदिता कारियाकार्वाना (श्रीलंका), कार्यकारी उपाध्यक्ष हेमन्त तिवारी (भारत), उपाध्यक्ष शकिल यामिन कंगा ( पाकिस्तान ), उपाध्यक्ष अशोक सिलवाल (नेपाल), महासचिव परमानन्द पान्डे (भारत ) , उपमहासचिव कुरुलु कोजाना कारिवाकार्वाना (श्रीलंका), सहसचिव सिद्धार्थ कलहान्स (भारत) , प्रमुख संयोजक मदन गौडा (भारत), कोषाध्यक्ष शिवानन्द थागुर (भारत) रहेका छन् ।
त्यसैगरी भारतस्थित व्यवस्थापन सचिव गितिका तालुकदार, श्रीलंकास्थित व्यवस्थापन सचिव केलुम बन्दारा, पाकिस्तानस्थित व्यवस्थापन सचिव डारा जाफर र नेपालस्थित व्यवस्थापन सचिव हिमाल घिमिरे रहेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार १८:५५