१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’


२३ कात्तिक, काठमाडौं । बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रवल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा शुक्रबार दोस्रो दिन नेपाल सरकार र पीडित जाहेरवालाका तर्फबाट बहसमा उपस्थित सरकारी वकिल तथा कानुन व्यवसायीहरूले यस्तो माग गरेका हुन् । उनीहरूले घटनासँग सम्बन्धित सबुद प्रमाण र साक्षीहरूको रक्षाका लागि आलमलाई थुनामुक्त नगर्न इजलाससमक्ष आग्रह गरेको समाचार गोरखापत्र दैनिकले छापेको छ ।

पूर्वमहान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले तत्काल प्राप्त प्रमाणहरू प्रतिवादी आलमविरुद्ध रहेकाले मुद्दा पुर्पक्षका सिलसिलामा थुनामै राख्न अनुरोध गरे । ‘प्रमाण बुझ्दै जाँदा निर्दोष ठहरिए सफाइ पाउँछन्, दोषी देखिए सजाय पाउँछन्,’ उनले भने, ‘अहिले नै विस्तृत अध्ययन गर्ने विषय होइन, साक्षी प्रमाणको रक्षा गर्न पनि थुनामा राख्नुपर्छ ।’

जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, बरामद सामग्री, फरेन्सिक प्रतिवेदनलगायतका वस्तुगत प्रमाणबाट घटना भएको होइन भन्ने अवस्था नरहेको उल्लेख गर्दै उनले कानुन तथा सर्वोच्च अदालतबाट प्रतिपादित असंख्य नजिरबाट मात्र होइन, मानवीयताको हिसाबले पनि इजलासले गम्भीर विचार गर्नुपर्ने बताए । यस्तो जघन्य अपराधको आरोप लागेका व्यक्ति बाहिर रहँदा प्रमाणहरू नष्ट हुने प्रबल सम्भावना रहने उनको भनाइ थियो ।

सरकारका तर्फबाट शुक्रबार उपन्यायाधिवक्ताद्वय रुद्रप्रसाद पन्थी र रामप्रसाद पन्थी तथा जाहेरवालाका तर्फबाट क्रमशः वरिष्ठ अधिवक्ताहरू कुमार शर्मा आचार्य, गोविन्द शर्मा बन्दी र दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, पुष्पराज पौडेल, आशिकराम कार्की र मनीषकुमार श्रेष्ठले बहस गरेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ०८:४६