७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुस्ता र कालापानीको समस्या समाधान कहिले ?


२३ कात्तिक, काठमाडौं । नेपाल–भारतबीच सीमा समस्या कायम छ । चीनसँग भने खासै सीमा विवाद छैन । नेपाल–भारतबीच १ हजार ८ सय ८० किमि र नेपाल–चीनबीच १ हजार ४ सय १४ किमि सीमा छ । समस्या सुल्झँदै जाँदा यी क्षेत्रमा सिमाना घटबढ भइरहेको नापी विभागले जनाएको छ । कालापानी, सुस्ता, टनकपुर, सन्दकपुर, पशुपतिनगरलगायतमा सीमा विवाद देखिन्छ । त्यति चर्चा नभएका सीमा विवाद दुई देशको टोलीले काम थालेपछि पत्ता लागेका छन् ।

सन् १९८० पछि सन् २००७ सम्म सीमा व्यवस्थापन प्राविधिक समितिले सक्रियतापूर्वक धेरै समस्या सुल्झाएको विभागका महानिर्देशक प्रकाश जोशी बताउँछन् । ‘दुई देशको प्राविधिक समिति मिलेर त्यो बेलासम्म ९० प्रतिशतभन्दा बढी काम सकेका थियौँ,’ उनले थपे, ‘तर कालापानी र सुस्ताको समस्या समाधान गर्न सकेनौँ ।’ सन् २००७ मा प्रतिवेदन सरकारलाई बुझाएपछि सीमा व्यवस्थापनको कामलाई निरन्तरता दिन सन् २०१४ मा सीमा कार्यदल (बीडब्लूजी) गठन भयो ।

नक्साअनुसार सीमा व्यवस्थित गर्ने, सीमास्तम्भ मर्मतसम्भार गर्ने, नयाँ स्तम्भ निर्माण गर्ने, जीपीएस जडान गरेर निगरानी गर्ने जिम्मा त्यो कार्यदलमार्फत आफूहरूले पाएको जोशीले बताएको गोरखापत्र दैनिकले खबर छापेको छ । सन् २०२२ सम्ममा सीमास्तम्भ निर्माण पूरा भएका ठाउँको नक्साङ्कन व्यवस्थित गरिसक्ने योजना छ । गएको भदौमा भारतमा सम्पन्न कार्यदलको बैठकमा सीमा समस्या समाधान गरी नक्सा व्यवस्थित गर्ने विषयमा दुई देश सहमत भएको उनले सुनाए । सुस्ता र कालापानीको समस्या समाधान गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई जिम्मा दिइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ०८:२१