१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

लिपुलेक र कालापानी विवादबारे सर्वपक्षीय बैठक, अबको नेपाली रणनीति पनि तय हुन सक्ने


२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हालै जारी गरेको नयाँ सीमा नक्साबारे छलफल गर्न आज अपराह्न ४ बजे सर्वपक्षीय बैठक बोलाएका छन् । बैठकले अब नेपालले तय गर्ने रणनीतिबारे पनि छलफल हुन सक्ने स्रोतले जनाएको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेको भन्दै चौतर्फी विरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले त्यस विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठकमा राजनीतिक दलका नेताहरू, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरु तथा सरोकारवालाको सहभागिता रहने प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जानकारी दिए । सीमा मिचिँदा पनि प्रधानमन्त्री मौन बसेको आरोप लागिरहेका बेला उनले सर्वपक्षीय बैठक बोलाएका हुन् ।

नेपाल सरकारले बुधबार विज्ञप्ति जारी गर्दै सीमाका सम्बन्धमा एकतर्फी गरिने निर्णय मान्य नहुने बताएको भोलिपल्ट जवाफ फर्काउँदै भारत सरकारले नयाँ नक्सामा नेपाल-भारत सीमामा कुनै परिमार्जन नगरेको दाबी गरेको थियो । यद्यपि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गर्दै समस्या समाधान गर्न भारत तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ०८:०७