१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रिय पूँजी निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री राई


 प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय पूँजी निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयद्वारा आज आयोजित प्रादेशिक गोष्ठीको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राखी औद्योगीकरण, औजारीकरण, गरीबी निवारण र रोजगार प्रदान गरी जनताको मुहारमा मुस्कान ल्याउन सहकारीले योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सबै क्षेत्रलाई समेटर प्रदेश सरकारले आवधिक पञ्चवर्षीय योजना सार्वजनिक गरेको स्मरण गराउँदै उहाँले प्रदेशको विकासका लागि ल्याइएका परियोजना केन्द्रबाट स्वीकृत प्राप्त भएपछि गरिने लगानी सम्मेलनमा सहकारीलाई जोडिने जानकारी दिनुभयो । मुख्यमन्त्री राईले विश्वासिलो र परभर्दो सहकारीलाई विकास र समृद्धको यात्रामा जोड्न प्रदेश सहकारी ऐन प्रभावकारी हुने र यसमा रहेको कमीकमजोरी सुधारका लागि आवश्यक सुझावका लागि आग्रह गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि तीनै तहको सरकारबीचको सहकार्य हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष एवं सांसद ओमदेवी मल्ल र प्रदेशसभा सदस्य सर्वध्वज साँवाले नेपाली सहकारी आन्दोलन विश्वस्तरीय रहेको बताउँदै उद्योग र उत्पादनमा पूँजीको परिचालन आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष एवं पूर्वमन्त्री केशव वडालले सहकारीको मूल्य, मान्यता र आचारसंहितालाई अङ्गिकार गरी जनताको आर्थिक उन्नति र मुलुकको समृद्ध कायम राख्न सबैसँग आग्रह गर्नुभयो । मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारीको सहयात्राबाट मुलुकमा गरीबी निवारण सम्भव रहेको औँल्याउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रदेशस्तरीय गोष्ठीमा सहभागी १३७ स्थानीय निकायका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृत, सहकारी सङ्घसंस्थाका प्रतिनिधिले रोजगारी सिर्जना, गरीबी निवारण, कृषिको आधुनिकीकरण, आयात प्रतिस्थापन उद्योग स्थापना, सहकारी ऐनमा रहेको बाधा अड्चन फुकाउ आदि सम्बन्धमा गहन छलफल गर्नुहुनेछ ।

मुलुकको ७७ जिल्लामा ३५ हजार सहकारी संस्थामा ६५ लाख सदस्यमध्ये ५२ प्रतिशत सदस्य महिला रहेका छन् । नेपालमा रहेका सहकारीले वार्षिक सात खर्ब कारोवार गर्ने गरेको छ । यसैगरी प्रदेश नं १ मा पाँच हजार १४१ सहकारीले वार्षिक रु ७० अर्ब करोवार गर्ने गरेका छन् भने नौ हजारलाई रोजागारी उपलब्ध गराउँदै आउँदै आएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार २१:१०