१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपालकाे विकास र समृद्धिकाे मुहारफेर्ने याेजना पूर्वको महाभारा क्षेत्र


-प्रेमलकुमार खनाल

धनकुट्टा भेडेटार हुदै पाँचथरको रांकेबजार सम्मको महाभारा मोटरबाटो अब केही बर्षमा पुरा होला । यो महाभारा क्षेत्र पुर्बको ईलाम, कन्याम झै चिया, पशुपालन, फलफुल, तरकारी, डेरी ब्यबसायका लागि उपयुक्त क्षेत्र मानिन्छ । यो महाभारा क्षेत्रमा अहिले पनि हजारौं हजार रोपनी जग्गाहरु बाँझो, चउर र सुन्दरडाडाहरु रहेका छन । अहिलेपनि अधिकांश डाँडाकाँडा, चउरहरु खालीछन अर्थात आवादी (खेतीपाती) छैन भने किसानहरूले कतिपय डाँडाहरुमा त चियारोपेका कारण सुन्दर चिया बगानले ढाकिएको छ । डाँडा, चउर र जंगलले भरिभराउ यो महाभारा क्षेत्रमा धनकुटा, मोरङ, सुनसरी, पाँचथर र ईलाम जिल्लाका ६/७वटा गाउँपालिका र नगरपालिका पर्दछन ।

महाभारा डाँडाको दाँयाबाँया भेडेटारदेखि रांके सांखेजुङसम्म करिब ७०/८०किलोमिटर एरियामा चिया बगान लगाउने र महाभारा डाँडा दायाँबायाँको तल तल फेदीमा पशुपालन, तरकारी, फलफुल, डेरी ब्यबसाय गर्न प्रोत्साहन गर्ने हो भने आर्थिक विकास र समृद्धिका लागि यो योजना नै नेपालकै प्रमुख श्रोत र क्षेत्र हुनेछ र बिश्व मै कृषि परियोजनाको रुपमा ठुलो योजना पनि हुनसक्छ ।

यसरी बहुपक्षीय हिसाबले यो महाभारा क्षेत्रमा चिया, पशुपालन, तरकारी, फलफुल, डेरी ब्यबसाय, पर्यटकहरुको मनोरन्जनका लागि, पर्यटकीय उधान, केवलकार, ठुलठुला होटल, भ्युटावर, बिमानस्थलयोजनालाई एकिकृत तवरले अगाडि बढाउने हो भने हजारौं हजार मानिसले रोजगारी पाउने, सयौ मानिस उधमी ब्यबसायी बनेर आर्थिक बिकाश र समृद्धिमा योगदान पुर्‍याउन सक्ने यो बहुपक्षीय,दीर्घकालीन योजना हुन सक्छ ।

यस्तै यो योजनालाई आबश्यक पर्ने जनशक्ति उत्पादन गर्न चिया बिषयसहितको उच्च शिक्षा हासिल गर्ने कृषि क्याम्पस, कृषि अनुसन्धानकेन्द्रहरु, कृषक तालिम केन्द्र, पशुअस्पताल स्थापना गरि जनशक्ति आपुर्ति गरि सेवा पुर्याउन सकिन्छ । यस्तो नेपाल कै गहना र बरदान साबित हुने महत्त्वपूर्ण क्षेत्रमा यसढंगको योजना अगाडि नबनाउने हो भने यी सुन्दर डाँडा पहाडहरुमा अब केही बर्षमा अब घरघडेरीको रुपमा बिक्रीवितरण हुन थाल्नेछन, जग्गा प्लटिङ गर्ने जग्गा दलालहरुको चहलपहल शुरु हुनेछ, जग्गा दलालले राम्रोसँग कमाई पनि गर्नेछन् र शहरबजारको बिस्तार हुनेछ, शहर बजारको बिस्तारले प्राकृतिक हरियाली डाडाकाडाको सौन्दर्य सदाका लागि समाप्त हुनेछ ।

उत्पादन, रोजगारी, बिनाको शहरीकरणले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण हुदैन । अत स्नेपालकै उदाहरणीय परियोजना हुन सक्ने यो महाभारा क्षेत्रलाई चिया, पशुपालन, फलफुल, डेरी ब्यबसाय र पर्यटन विकासको पकेट क्षेत्र घोषणा गरि तिनवटै तहका सरकार, सहकारीमा आधारित हजारौं सम्बन्धित जग्गा धनी किसानहरुको समूह, नीजिक्षेत्र र बैदेशीक लगानी, एनआरएन लगानीको संयुक्त लगानीमा (पिपिपि)मा आधारित योजना मेघा प्रोजेट संचालन गर्न सकिने प्रचुर संभावना बारे सोंच, चिन्तन, छलफल गरि संभाब्यता अध्ययन गर्न सम्बन्धित तहका सरकारहरु, जनप्रतिनिधि, सांसदहरू, बुद्धिजीवी, अर्थबिदहरुको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १०:३२