१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

विद्याको झोलाबारे टिप्पणी गर्ने तपाईका भाउजु हुनुहुन्छ कि हुनुहुन्न घरमा ?


२२ कात्तिक, काठमाडाैँ । कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएको विद्या भट्टराईका बारेमा झोलाको विषयलाई लिएर केही मानिसहरूले सामाजिक सञ्जालमा बिरोध जनाइरहेका छन । कतिपयले गाली नै पनि गरिरहेका छन । चुनाव प्रचारमा हिडेको उम्मेदवारले सबै कुरा अाफैँले बोक्न सम्भव हुन्छ भन्ने होइन तर सामाजिक सञ्जालमा अाफ्नो झोला अाफैँ बोक्नुपर्छ भन्दै विद्याको हुर्मत लिने काम भैरहेको छ । यही सन्दर्भमा अनुराधा पाैडेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा टिप्प्णी यहाँ पाठकहरू माझ प्रस्तुत गर्नु उपयुक्त लागेर राखेका छाैँ । पाैडेलले फेसबुकमा लेखेको टिप्पणी जस्ताको त्यस्तै तल पढ्न सक्नुहुन्छ ।

बिध्याले झोला बोकाएको एकतर्फी कथा पढेर हैरान छु । बिध्यालाई मैले २०४७ सालदेखि चिन्छु । हामीहरु पद्मकन्या क्याम्पसका बि ए पढ्दा सम्मका सहपाठी थियौँ । उनी मास्टर गरीवरी क्याम्पसको शिक्षिका भईन र बच्चा पनि हुर्काईन् । क्याम्पस पढ्दा उनले पद्म कन्या क्याम्पसमा ने वि सँघको मात्र होईन अखिल को पनि उपस्थिति छ भनि कमिटी गठन गर्ने र कमिटीमा बस्ने आँटिली केटी हुन् उ बेलै । २०४७ ४८ तिर पद्म कन्या क्याम्पसमा ने वि सँघका नानीहरु अखिलका केटी भनेपछि कपाल भुत्ल्याउन जान्थे । एकछत्र राज थियो उनीहरुको ।

एक खालको ने वि सँघ आतँक मच्चाउँथे पूर्व मन्त्री कमला पन्त र नानूहरुले ! (नानू स्वर्गे भईन । उनी पनि भरभराउँदी नेतृ थिईन्) यस्तोमा पनि बिध्या र उनका साथीहरु शान्त, ईमान्दार र लगनशिल देखिन्थे । भोलिका दिनमा बिध्या कस्ती बन्लिन् भन्ने कुरा पदमा पुगेपछि थाह हुन्छ । नत्र आजसम्म उनलाई खोट लाउने ठाम छैन ।

शारिरीक रुपमा बिध्यालाई हिड्नमा कठिनाई छ । तपाई हामी जस्तो उनी खुरुरु दौडिन सक्दिनन। उनी बिस्तारै हिड्छिन् बिस्तारै बोल्छिन् ।
त्यसैले उनको साथमा देवर हुनु र भाउजुलाई पार्टीले दिएको जिम्मेवारी पूरा गराउनका लागि देवरले मद्दत दिनु स्वभाविक हो । तपाई टिपण्णी गर्नेहरुका भाउजु हुनुहुन्छ कि हुनुहुन्न कुन्नी घरमा ? अनि तपाईहरुको सँस्कार के छ कुन्नी ।

पश्चिमी सँस्कार भनौ या गण्डकी अन्चलको सँस्कार । देवरहरु भाउजुहरुलाई आमा सरह मान्छन् । भाउजुहरु देवरलाई बाबु या नानी भनेर बोलाउँछन् छोरा छोरीलाई जस्तै । भाउजुहरुको भारी बोकिदिने कुरो केहि नौलो होईन । उहिले उहिले देवर र आफ्ना छोराछोरी सँगै हुर्कन्थे । बिध्याको बारेमा राजनीतिक चेतनाको बहस गरौँ । उनको बौद्दिक क्षमताको कुरा गरौँ तर झोला बोकाएको जस्ता मनगढन्ते कुरा नगरौँ ।

मनगढन्ते कुरा सुन्दा जति तपाईको मन छिया छिया हुन्छ उनी पनि मानिस् हुन् र उनको पनि मन दुख्छ । उनी रहरले भन्दा पनि पार्टीले दिएको जिम्मेवारी पुरा गर्न खान पुग्ने जागिर छाडेर मूल धारको राजनीतिमा आएकी छिन् । राजनीतिमा कसैलाई पनि आउन नदिने र आफू पनि नआउने गरी निस्तेजको राजनीति नगरौ । उनलाई पनि टेस्ट गरी हेरौँ । आखिर देश हाक्ने त राजनीति गर्नेहरुले नै हो नि । मन दुखेकोले यति लेखेँ । बिद्याले पढ्लिन भनेर लेखेको होईन र उनलाई फुर्काउन पनि लेखेको होईन ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार ०८:३९