१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सरकारको नेतृत्व आलोपालो गर्नेबारे कुनै सहमति भएको छैनः प्रदीप ज्ञवाली


नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकताका लागि सात बुँदे सहमति भएको छ । यसले दुई पार्टीको एकता हुँदैन कि भन्ने शंकालाई निवारण गरेको छ भने नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने निश्चित देखिएको छ । पार्टी एकताको सहमति र सरकार विस्तार लगायतका विषयमा हामीले नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीसँग गरिएको छोटो कुराकानी गरेका छाैँ ।

नयाँ पार्टीको नेतृत्वबारे सहमतिमा किन उल्लेख गरिएन ?
–हामीले दुई अध्यक्ष रहने प्रणालीमा जने भनेर यसअघि सार्वजनिक नै गरिसकेका छौँ । त्यसलाई दोहो¥याउन आवश्यक नठानिएर मात्रै हो । महाधिवेशनसम्मको संक्रमणकालीन अवस्थामा पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबैजनाले नेतृत्व गर्नुहुन्छ ।

अध्यक्ष कि सहअध्यक्ष भएर नेतृत्व गर्नुहुन्छ ?
–अध्यक्षको रुपमा ।

सरकारमा पनि आलोपालो गर्ने भन्ने चर्चा थियो त्यसबारेमा पनि केही सहमति भएको हो ?
–त्यो चर्चामात्रै हो । त्यससम्बधमा कुनै निर्णय भएको छैन । त्यसमाथि एउटै पार्टी भैसकेपछि आलोपालो भन्ने शब्द पनि उपयुक्त भएन । भोलि कुनै बेला पार्टीले आवश्यक ठानेमा नेताहरुको कार्यविभाजन एकीकृत पार्टीले आफ्नै ढंगले गर्न सक्छ । तर अहिले हामीले यस विषयमा त्यस्तो कुनै लिखित सहमति गरेका छैनौँ ।

अन्य नेताको जिम्मेवारी कहिलेसम्म टुंगिन्छ ?
–अब छिटै हुन्छ । सोमबार नै हामीले दुई वटा कार्यदल बनाउने समझदारी गरेका छौँ । एउटाले पार्टीको अन्तरिक प्रतिवेदन तयार गर्छ भने अर्कोले संगठननात्मक व्यवस्थापन सम्बन्धी काम गर्छ । त्यसले कुन तहका कमिटीहरु रहने भन्ने कुरादेखि लिएर कमिटीको समायोजन कसरी गर्ने भन्ने कुरा समेत टुंगिन्छ । मलाई लाग्छ हामीले एउटा शक्तिशाली स्थायी कमिटी बनाउँछौँ जहाँ थोरै नेताहरुमात्र रहनु हुन्छ । त्यसपछि पोलिटव्यूरो हुन्छ । पोलिटव्यूरोले नीतिगत निर्णयका काम गर्छ र ठिक्क आकारको केन्द्रीय कमिटी बन्छ । यी संरचानाभित्र हाम्रा सबै नेताहरु अटाउनुहुन्छ । दुबै पार्टीका वरिष्ठ नेताहरुलाई त्यही उच्च जिम्मेवारीका साथ पार्टीमा सम्मानित स्थानमा राख्छौँ ।

नयाँ पार्टीको महाधिवेशन चाहिँ कहिले गर्नुहुन्छ ?
–एकदेखि डेढ वर्षकोबीचमा पार्टीको महाधिवशेन हुन्छ । त्यति समय त हामीलाई तयारी गर्न पनि लाग्छ । किनभने सदस्यताको अध्यावधिक गर्नेदेखि लिएर त्यसलाई व्यवस्थित गर्ने कुरा, अन्य दस्तावेजहरु तयार गर्ने कुरा र हामीले टुंग्याउन बाँकी रहेका केही कुरा जसलाई हामीले महाधिवेशनसम्म बिधिसम्मत ढंगले छलफलमा लैजान्छौ भनेका छौँ यी सबै काम गर्न हामीलाई एक वर्ष वा त्यो भन्दा केही बढी समय लाग्ला ।

सरकार विस्तार चाहिँ कहिले हुन्छ ?
–मलाई लाग्छ बुधबारसम्ममा होला । यसमा प्रधानमन्त्रीले प्रचण्ड र अन्य नेताहरुसँग सल्लाह गरेर निर्णय लिनुहुन्छ । यद्यपी यसमा कुनै औपचारिक निर्णय भएको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार ०९:०४