११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

आजदेखि दमौलीमा तनहुँ पर्यटन महोत्सव शुरु


२० कात्तिक, दमौली । जिल्लामा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि दमौलीमा तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सव शुरु भएको छ ।सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउन र जिल्लाका धार्मिक तथा पर्यटकीयस्थल भ्रमणको निम्तो दिन नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा व्यास नगरपालिका–४ सिमलटारमा चौथो पटक महोत्सव शुरु गरिएको हो ।

महोत्सवमार्फत जिल्लाका ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल घुम्न आन्तरिक पर्यटकलाई आह्वान गरिने महोत्सव मूल समारोह समितिका संयोजक वसुन्धरा घर्तीले जानकारी दिनुभयो । “सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउनु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो, “महोत्सवलाई भ्रमण वर्षको प्रचारप्रसार गर्ने माध्यमको रुपमा लिएका छौँ ।” संयोजक घर्तीका अनुसार महोत्सव अवलोकनका लागि आउने पर्यटकलाई जिल्लाका विभिन्न सांस्कृतिक ग्राम र धार्मिकस्थलको भ्रमण गराउने लक्ष्य पनि लिइएकोे छ ।

महोत्सवका प्रवक्ता नन्दु थापामगरले स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो । “तनहुँ जिल्लामा ६५ प्रतिशत आदिवासी जनजाति बसोबास गर्छन्”, उहाँले भन्नुभयो, “जनजाति बाहुल्य क्षेत्र भएकाले सांस्कृतिको प्रवद्र्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ ।” दुई सय ३० स्टल रहेको महोत्सवमा रु तीन करोड बराबरको आर्थिक कारोवार हुने र तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट आम्दानी भएको रकम महासङ्घको अधुरो कार्यालय भवन निर्माण र जग्गा खरीद गर्दा लागेको ऋण तिर्न प्रयोग गरिने आयोजकको भनाइ छ ।

जिल्लामा मेला महोत्सवको शुरुआत आदिवासी जनजाति महासङ्घले नै गरेको थियो । विसं २०६३ मा महासङ्घको पहलमा पहिलो पटक सांस्कृतिक महोत्सव आयोजना भएपछि त्यसयता प्रत्येक वर्ष विभिन्न सङ्घसंस्थाले महोत्सव गर्ने परम्परात शुरु भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार १६:१०