क्वीन्टलको मालाले पनि नभरिएकाे नेताहरूको गला
-सूर्य थापा
तिहारअघि कैलालीको धनगढीमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एयरपोर्टमा माला लगाइदिनेहरुको लश्करको दृश्य देख्नेहरुले चर्को आलोचना गरे । सामाजिक सञ्जालहरुले त उहाँको त्यही कारण हुर्मत नै लिन खोजे ! जबकि उहाँलाई त्यहाँ पार्टीका प्रदेश इन्चार्ज, अध्यक्ष र केही जिम्मेवार नेताहरुले विमानस्थलमा स्वागत गरी कार्यक्रमस्थलमा पुग्दा अतिथि र सहभागीहरुले गडगडाहट तालीका बीच स्वागत गरेको भए भइहाल्थ्यो ! अध्यक्ष स्वयंले नै त्यसढंगले स्वागत गर्न भनेर त पक्कै पनि भन्नुभएको थिएन होला ?
तिहारको भोलिपल्ट बाराको कलैयामा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई उहाँभन्दा अग्लो मालाले स्वागत गरिएको अर्को दृश्य देखियो । विगतमा उहाँ त्यसखाले स्वागत र आतिथ्य सत्कार रुचाउने नेता हुनुहुन्थेन ! कसरी त्यहाँ क्वीन्टल हाराहारीको माला लगाउन तयार हुनुभयो होला ? आफ्ना आदरणीय नेताहरुलाई विमानस्थल वा कार्यक्रमस्थलमा कसरी स्वागत, सम्मान र सत्कार गर्ने ? अब यस्ता सन्दर्भमा स्पष्ट तौरतरिका नै निक्र्योल गरिनुपर्ने विषय बनेको छ यो ।
करिब डेढ बर्षअघि रौतहटमा मन्त्री बर्षामान पुन र मेयर सियाराम कुशवाहापछि मध्यतराईको अर्काे छिमेकी जिल्ला सर्लाहीमा उस्तै दृश्य देखेर फेरि आँखा बिझाएका थिए ! माला कति किलो बराबरको हो ? फूल कहाँको हो ? आयोजक को हो ? पुष्प व्यवसायीहरूले यसरी माला लगाइदिएका हुन कि ? आखिर त्यसो गरेर विशेष उपलब्धि के भयो ? माला लगाउँदा ख्याल गर्नु मनासिव नै हुन्छ होला !! लगाइदिनेका त स्वार्थ अपरम्पार नै हुन्छन् होलान् ! यत्तिकै यो हदको चाचू किन गरिरहन्थे र ? जनार्दन शर्मा ‘प्रभाकर’ जस्ता अँध्यारो हटाएर उज्यालो नेपालको यश कामले हासिल गरेका कडा मिजासका नेतासमेतले सर्लाहीमा त्यस्तो चाचू गर्नेहरूको सातो उडाउन नसक्नु लाजमर्दाे मजाक भयो !
यसरी मन पराएको मान्छे जेठाजु प¥यो भनेजस्तै किन भइरहेको होला ? मैले यदु स्मृति दिवसका दिन २०७५ फागुन २१ गते उहाँसँग (प्रभाकर)को भेटमा पनि सर्लाहीमा पहिरिएको ठूलो मालाको बारेमा सार्वजनिक रुपमै आलोचना गरेको बताएको थिएँ । उहाँले तपाईको ध्यानाकर्षण ठीक थियो भनेर आलोचनालाई सहर्ष स्वीकार गर्नुभयो र त्यसपछि त्यस्तो दृश्य हामीले पुनः देख्नुपरेको छैन ।
यो के भएको होला नि ?
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड“ त्यसपछि कपिलवस्तुको विजयनगरमा भारतीय मालाको खपतमा प्रमुख आतिथ्यता ग्रहण गर्नुहुँदै पो थियो ! जबकि उहाँलाई राज्यले सबभन्दा बढी सुरक्षाथ्रेट भएको नेताका रुपमा छ दर्जनभन्दा बढी सुरक्षकर्मी अघिपछि लगाइरहेको छ ।
यस्तै विभिन्न आयोजनाका लागि माला बोकेर भारतबाट ल्याउँदै बबुरा सर्वहारा कार्यकर्ताहरू दृश्यमा असीनपसीन भएका देखिन्छन् !सर्वप्रथम शायद धनगढीबाट विगतमा धेरै किलो वा क्वीन्टलका यस्ता मालाले प्रमुख अतिथिको स्वागत गर्न थालिएको थियो । त्यसले भारतीय फूल किन्न पाइने तराईका कार्यक्रमहरुमा यसखाले विकृतिको रुप लिएर बढाएको देख्न सकिन्छ । एकपटक धनगढीमै पुग्दा झण्डै गला भरिने गरी आयोजकहरुले मलाई पनि माला लगाइदिँदा निकै असजिलो महसुस भएको थियो र पछि स्वर्गद्वारीको डाँडाखर्कमा पार्टी स्थायी कमिटी सदस्य मणि थापा र मैले मालाको थुप्रोका बीच एकएक वटा मात्रै माला लगाइदिन आयोजकहरुलाई अनुरोध नै गरेका थियौं । खासमा यसरी टुप्पीभन्दा माथिसम्म माला थुपारिदिने वा धेरै किलो र क्वीन्टलका माला लगाइदिने गरेर अतिथिको सम्मानभन्दा बढी चाकडी गरेको नै ठहरिन्छ ।
एक बर्षका दृश्यहरु झलझली आँखामा … !
जनकपुर (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला उहाँको सम्मानमा प्रदेश सरकारले गरेको कार्यक्रम), रौतहट, सर्लाही, पर्सा, बारा, डोटी, कपिलबस्तु र कैलालीमा आफ्नो देशका पाहुना तथा श्रद्धेय नेताहरूको गलामा यस्ता माला लगाइदिन को भन्दा को कमको माला प्रतिस्पर्धा तथा चाकडीवाजहरूले गरिरहेको होडबाजी देखेर दंगदास र मख्ख पंक्तिसमेत देखिन्छ ! यसमा सम्मानित नेताहरूले गल्ती गर्नुभयो भन्न त मिल्दै मिलेन ! किनकि उहाँहरुबाट त्यस्तो गल्ती हुनै सक्तैन ! माला लगाइदिनेले जस्तो लगाइदिन्छन् त्यस्तै लगाइदिएर उहाँहरुले कहाँ गल्ती गर्नु ? बरु आयोजक र मालाका व्यवस्थापकहरुले कुनै अन्यथा घटना हुनुअघि ध्यान पु¥याउनु उपयुक्त हुन्छ ।
मालामार्फत सुरक्षा खतरा आउन पनि सक्छ कि ? यो कतै त्यसकै रिहर्सल त होइन ?
खोई चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो होडबाजी नगरेवापत् राष्ट्रपति पद नै गुमाउनु परेको भन्ने समाचार त सुन्नु परेको छैन दुनियाँले ? अझ राष्ट्रपति ट्रम्पले त २०७६ सालको तिहारको शुभकामना दिँदंै ह्वाइटहाउसमा बत्ती प्रज्वलन गरेको तर बत्तीसँगै मालासमेत रहेको भएपनि उहाँले माला लगाएको देखिन्न । राष्ट्रपति सी भरखरै नेपाल भ्रमणमा आउँदा पञ्चकन्याले दिएको माला हातले ग्रहण गरे पनि तर गलामा लगाएको दृश्य त कतै देखिएन । सन् १९७८ मा नेपाल भ्रमण गर्दा आधुनिकीकरणका आर्किटेक्ट चिनियाँ नेता तङ सियाओ पिङलाई माला लगाएर नै नेपालमा स्वागत गरिएको तस्बीर मैले हालै उहाँको जन्मथलोस्थित संग्रहालयमा भेटेर क्यामेरामा कैद गरी ल्याएको छु ।
नेपालका “आयोजक” चाकडीवाजहरूले हाम्रा नेताहरुलाई भारतबाट (अधिकांशतः) आयातीत मालाको मुठाले यसखाले स्वागत गरेर सम्मान गरेका हुन् कि खुट्टामा तेल लगाएर केराको बोट चढाउन खोजेका होलान् ? यो सामन्ती परम्पराको निरन्तरता, सामन्तवादकै अवशेषरूपी अभ्यास, पूँजीवादी, निम्न पूँजीवादी व्यक्तिवादी, आत्मप्रशंसावादी वा स्तुति आरतीवादी अथवा समाजवादउन्मुख जनताको जनवादी कस्तो सँस्कृति र सँस्कारको अभ्यास गरिएको होला ? अथवा भारत उत्पादित फूल खपतवादी वा मौलिक नेपाली र नेपालवादी कस्तो अभ्यास हो यो ? अझ समृद्ध नेपाल निर्माणको दृढ संकल्पवादी यो कस्तो साँस्कृतिक अभ्यास र पूर्वाभ्यास हो ? जबकि पानी र बानी माथिबाट तलतिर बग्ने र प्रवाह हुने गर्दछन् भन्ने गरिन्छ ।
२०७४ साल असोजमा वाम गठबन्धन बनाएर चुनावमा जाँदा तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ठाउँठाउँका जनसभाहरुमा एउटै ठूलो माला संयुक्तरुपमा लगाइदिने समेत गरिएको थियो । त्यतिबेला बाग्लुङको गलकोटमा दुबै नेतालाई लगाइदिएको दुबोको माला देशभरि कलात्मक र मौलिक सम्मानका रुपमा निकै चर्चित र प्रचारित भएको थियो ।
मालाको मोहले प्रमुख नेताहरु सबैजसोलाई लठ्याएको अनुभूति गर्न सकिन्छ । तर सत्तारुढ दलका नेताहरु अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपाल रौतहटको एक विशाल जनसभामा पुग्दाचाहिँ माला होइन, एकएक वटा सेतो गम्छा लगाएर मञ्चमा आसीन भएर सम्बोधन गरी फर्किनुभएको पनि त थियो । त्यसलाई सुधारको व्यवहारिक संकेतका रुपमा जनसमुदायले बुझेका पनि महसुस गरिएको थियो ।
पूर्वराजा, पूर्वपञ्चदेखि विप्लव समूहसम्म
प्रधानमन्त्री ओलीलाई डोटीमा मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक योजना मन्त्री रघुवीर महासेठ र उर्जामन्त्री बर्षामान पुनले एउटै मालामा समेटिएर साथ दिएको देखिन्छ । अध्यक्ष प्रचण्ड र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्याउको माला तथा एक युवतीले आलुको माला भिरेको दृश्य निकै रोचक देखिन्छ । यतिसम्म कि खानेपानी मन्त्री बिना मगर र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि यो होडबाजीमा आफूलाई खरो उतारेका छन् । यस माला मोहबाट पूर्वराजा ज्ञानेन्द्र मध्य तराई घुम्दा होस् वा डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव, अशोक राई, राजपाका नेताहरु र पञ्च पृष्ठभूमिका नेताहरु डा. प्रकाशचन्द्र लोहनी, कमल थापा र पशुपतिशमशेर राणा तथा विप्लव समूहको प्रवक्ताका रुपमा खुला सभालाई सम्बोधनसमेत गरेका खड्गबहादुर विश्वकर्मा उर्फ प्रकाण्ड पनि मोहित देखिएका छन् ।
रौतहटमा इँटाभट्टामा करिब दुई दर्जन घाइते अवस्थाका मान्छेहरुलाई जिउँदै बर्बरतापूर्वक जलाएको मुद्दा खेपिरहेका आफ्ताव आलमसम्मले यस प्रतिस्पर्धामा आफूलाई आकर्षक रुपमा उभ्याएका छन् ।
सुरक्षा खतराको सूचक– माला एम्बुस नै हुनसक्छ !
हामीकहाँ चाडपर्व, स्वागत, सत्कार, आतिथ्य, विदाई र श्रद्धाञ्जलिसमेतमा माला प्रयोग गर्ने प्रचलन रहेको छ । कम्युनिष्ट नेताहरु र अतिथिलाई टाउको ढाकिने गरी मालाले स्वागत गर्ने पछिल्लो स्वागतशैलीको अभ्यास भने नेकपा(माओवादी)ले रोल्पा, रुकुम आदि ठाउँबाट जनयुद्ध थालेपछि अघि बढाएको थियो । त्यस्तो स्वागत २०५७ सालमा रोल्पाको माडीचौर, कोटगाउँ र कोर्चाबाङलगायतका ठाउँमा पुग्दा हामीलाई पनि गरिएको थियो । अझ भरुवा बन्दुक पड्काउँदै यति तोपको सलामी दिएकोसमेत भन्ने गरिन्थ्यो ! दशैँपछिको ठूलो चाड तिहार र छठ पर्वको बेलासमेत राष्ट्रिय उत्पादनले नपुगी कराडौं मूल्यको फूल भारतबाट आयात गरी यस्ता पर्वहरु मनाउनु परेको विडम्बना हामीकहाँ रहेको अवगत नै छ ।
यस्तो नमिल्दो परिवेशअन्तर्गत नै एउटै मालाभित्र कोइराला परिवारका तीन भाइबहिनी (सुजाता, शेखर र सशांक)लाई पर्सामा स्वागत गरेलगत्तै बारामा सभापति शेरबहादुर देउवालाई झन् ठूलो र क्वीन्टले मालाले एक बर्षअघि स्वागत गरिएको थियो ! उपेन्द्र यादव वा रामचन्द्र पौडेल, लालबाबु राउत वा गगन थापासमेत मालामोहबाट जोगिएर साधारणका रुपमा प्रस्तुत हुन नसकेको तथ्य उहाँहरुका गलामा सुशोभित मालाहरुले देखाउँछन् । प्रधानमन्त्री ओलीलाई यस्ता मालाको प्रयोग संक्रमणको खतरा निम्त्याउन सक्नेतर्फ आयोजकहरु कहिल्यै सम्वेदनशील भएकोसम्म देखिँदैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु ।
नेपाली कांग्रेसका नेतृ सुजाता कोइराला, डा. शेखर कोइराला र सशाङ्क कोइराला ।
अझ डरलाग्दो कुरा त नेताज्यूहरू मालारूपी यस्ता खतरासूचक एम्बुसहरुमा पर्नबाट जोगिनै सम्भव छैन र सुरक्षा खतरा डरलाग्दो गरी सँगसँगै आएको पो छ कि भन्ने हेक्का होला कि नहोला भन्ने रहेको छ । किनभने, छिमेकी भारतमा राजीव गान्धीको हत्या यस्तै माला लगाइदिने बहानामा आत्मघाती बम प्रहारबाटै त गरिएको थियो ! यहाँ आयातीत मालासँगै हानिकारक बिषादिले अनेकन् स्वास्थ्य समस्या निम्त्याउने समेत गरेको छ । यसको हेक्का कसैले गरेको पाइँदैन ।
हामीलाई त बुझ्नै गा¥हो पो भयो कि यो सुधार गर्न सकिने कमजारी हो कि होइन ? भारतीय सीमासँग जोडिएका तराइका जिल्लाहरुमा नै यस्तो अभ्यास किन पटकपटक भइरहेको छ ? सुरक्षा निकायहरु यस मामिलामा कति सजग र सम्वेदनशील छन ? माला नलगाएकै कारण कोही नेता नै नमानिने वा अपमानित हुने अवस्था हो र ? यसखाले अभ्यासहरु गणतान्त्रिक सँस्कार, सँस्कृति र सामाजिक न्याय एवं समानताअनुकूल हुनुपर्दैन ?
मालालाई जस्तो सँस्कृतिको द्योतकका रुपमा ग्रहण गर्ने अस्वस्थ र आँखा बिझाउने प्रतिस्पर्धाको क्रम चलिरहेको छ, यसलाई अविलम्ब रोकेर आम जनताले चित्त नदुखाउने ढंगको बनाउनै पर्दछ । आम चुनावको विशेष बेला वा तिहार र छठ आदि पर्वका अवसरमा मालाको व्यापक सदुपयोग गर्ने सँस्कृति प्रचलित छ, जो क्षम्य हुनसक्छ । तर यसलाई राजनीतिक सँस्कृतिको अङ्ग बनाउने, विमानस्थलमा सयौं माला लिएर स्वागतमा तैनाथ हुने, कार्यक्रमस्थलमा किलोका किलो र क्वीन्टलका क्वीन्टल फूलका माला अनिवार्य जस्तो गरेर रमाउने सँस्कृति किमार्थ कम्युनिष्ट, लोकतान्त्रिक र समाजवादी हुन सक्दैन । यो त बिहारी सँस्कृतिको भद्दा, मजाकपूर्ण र विकृत नक्कल मात्र भइरहेको छ । अब यस्तो गीत गाउने हो कि ? फूलको आँखामा फूलै संसार… नेताका गलामा क्वीन्टलका मालै संसार ! तस्वीर स्रोत: विभिन्न अनलाइनहरु (दैनिकअनलाइनबाट साभार)
प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलवार १५:२२