१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

दिगो विकास लक्ष्यले तय गरेको पोषणको मात्रालाई पूरा गर्न सरकार क्रियाशिलः उपप्रधानमन्त्री पोखरेल


१८ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले दिगो विकास लक्ष्यले तय गरेको पोषणको मात्रालाई पूरा गर्न सरकारले विशेष कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको बताउनुभएको छ । पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले दिगो विकास लक्ष्यले तय गरेको पोषणको मात्रालाई पूरा गर्न नेपाल सरकार तयार रहेको बताउनुभयाे ।

उपप्रधानमन्त्री पोखरेलले गरीबी निवारण कार्यक्रममार्फत पोषण र खाद्य सुरक्षाका कार्यक्रम अगाडि बढाइएको तथा कृषिमा आधुनिकीकरण गरी खाद्य सुरक्षामा जोड दिइएको बताउँदै खाद्य सुरक्षा र पोषणलाई नेपालको संविधानलेसमेत मौलिक हकका रुपमा सुरक्षित गरेको जानकारी गराउनुभयो । सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र आइभरीकोष्टका उपराष्ट्रपति ड्यानियल डंकलले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

सम्मेलनलाई भिडियो सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक सामाजिक रुपान्तरणमा पोषणको ठूलो महत्व रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले नेपालले बहुक्षेत्रीय षोषण कार्ययोजना कार्यान्वयन गरिरहेको उल्लेख गर्दै आमा र बालबालिकालाई पोषिलो खाना उपलब्ध गराउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आमाको गर्भ सुरक्षित हुँदा मात्र युगको सुरक्षा हुने भन्दै उहाँले भन्नुभयो, “पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छ ।”

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार २३:१९