६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

उत्तर र दक्षिण कोरिया युद्ध अन्त्य गर्न सहमत, शान्ति वार्ता लगत्तै ९ बुँदे घाेषणापत्र जारी


१४ वैशाख, काठमाडाैँ । उत्तरकाेरिया र दक्षिणकोरिया  दुई देशबीचको युद्ध अन्त्य गर्न सहमत भएका छन्। सन् १९५० मा सुरू भएको युद्ध अन्त्य गर्न दुबै देशका राष्ट्रपति सहमत भएका हुन ।

सीमावर्ती गाउँमा शुक्रबार भएको उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच भएको शिखर वार्तामा सन् १९५३ मा भएको युद्धविरामपछि रोकिएको युद्ध अन्त्य गर्ने सहमति भएको छ । शिखर वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा किम र मुनले यही वर्ष युद्ध सकिएको घोषणा गरिने बताएका छन ।

वार्तापछि ९ बुँदे पान्मुनजेओम घोषणा जारी गरिएको छ।

घोषणाका बुँदा यस्ता छन्:

१‍. सन् १९५३ युद्धविरामपछि रोकिएको युद्ध यही वर्ष अन्त्यमा भएको घोषणा गर्न सहमत भएका छन्।

२‍. दुबै कोरियाले अन-आणविकीकरण निशस्त्रीकरणलाई संयुक्त लक्ष्य बनाएर कोरियाली प्रायद्वीपलाई आणविक अस्त्र मुक्त पार्न सहकार्य गर्नेछन्।

३.यही वर्षको हिउँदमा दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्नेछन्।

४‍. जमिन, समुद्र र आकाशमा भइरहेका द्वेषपूर्ण कार्यहरू बन्द गर्न पनि दुई कोरिया सहमत भएका छन्।

५.मे १ देखि दुबै कोरियाले सीमा क्षेत्रमा प्रचारबाजी बन्द गर्नेछन्।

६. उत्तर कोरियाको गाइसियोङमा संयुक्त सम्पर्क कार्यालय स्थापना गर्नेछन्।

७. आउने अगस्ट १५ मा दुबै कोरियाले १९५० देखि १९५३ सम्म चलेको युद्धका कारण बिछोडिएका परिवारको पुनर्मिलन आयोजना गर्ने।

८. पूर्वी तटमा अन्तर-कोरियाली रेल सञ्जाल पुन: सञ्चालन गर्न दुबै कोरिया सहमत भएका छन्।

९. सन् २०१८ को एसियन गेम्समा दुबै कोरिया संयुक्त रूपमा सहभागी हुनेछन्।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १६:४२