१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नायिका तथा निर्मात्री ऋचाले बिहे गर्दै, पाेखरामा दिइन ब्याचलर पार्टी


१७ कात्तिक, काठमाडौँ । नायिका तथा निर्मात्री ऋचा शर्माले आउँदो मंसिरमा बिहे गर्ने भएकी छिन् । हालै उनले आफ्ना साथीहरुलाई पोखरामा ब्याचलर पार्टी दिएकी छिन् । ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी फेसन डिजाइनर सिवांगी प्रधान लगायत उपस्थित थिए ।

उनी केही समययता दिपेक्ष्य राणाको प्रेममा छिन् । लामो समयदेखि यी दुईले बिहे गर्ने चर्चा पनि थियो । ऋचाले आउँदो मंसिरमा बिहे गर्ने चर्चा गतवर्षदेखि नै चल्दै आएको थियो । दिपेक्ष्य राणा राजधानीको लबिम मलका म्यानेजर पनि हुन् । यी दुईको बिहेको चर्चा चले पनि सार्वजनिक रुपमा भने ऋचा र दिपेक्ष्य कुनै पनि कार्यक्रममा देखिएका छैनन् ।

ऋचाले पछिल्लो समय चलचित्र फिल्म निर्माणमा सक्रिय थिइन् । यस्तै उनले निर्माण गरेको चलचित्र ‘आधा लभ’ पनि व्यावसायिक रुपमा असफल भएको थियो । ऋचालाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा पनि लिइन्छ । सामाजिक विषय र महिला हिंसाका विरुद्धमा पनि उनी खरो रुपमा उत्रिने गर्छिन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार १४:११