१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल टेलिकमलाई सेवामा सुधार गर्न प्रधानमन्त्री अाेलीकाे निर्देशन


१४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न निर्देशन दिनु भएको छ । आज सिंहदरबारमा टेलिकमको प्रगति बिवरण सुनेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनु भएको हो । प्रधानमन्त्री ओलीले टेलिकम भित्र मुसा वा मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखत रहेको बताउनु भएको छ । “टेलिकम भित्र यस्ता प्रवृतिहरु हाबी भएको देखिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनु पर्छ ।”

प्रधानमन्त्री ओलीले टेलिकमका खास प्राविधिक शाखाहरुमा २४ सै घण्टा सेवा कर्मचरी खट्नु पर्ने बताउनुभएको छ । त्यस्ता शाखाहरुमा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।


टेलिकम नाफाका लागि मात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “जनतालाई सञ्चार, शिक्षा ,सुचना आदिको सहजताका लागि टेलिकमले काम गर्नुपर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टीकल फाइबरको काम प्रति असन्तुष्टी जनाउनु भएको छ । “यस कामका बारेमा गुनासाहरु आएका छन् । यसको काम जहाँ पुगेको छ त्यहीं रोक्नुहोस”प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।”

प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिनु भएको छ । “टेलिकम प्रतिष्पर्धामा पछाडि पर्ने लक्षणहरु देखिएका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस ।” प्रधानमन्त्री ओलीले टेलिकमको सेवा शुक्रबार अवरुद्ध हुने र सोमबार मात्र सञ्चालन हुन्छ भनेर जनस्तरबाट आएको गुनासो आफूले सुनेको बताउनुभएको छ । “यी सबै कुरामा सुधार गर्नुहोस । आफ्नो सेवालाई विश्वासिलो बनाउनुहोस । ”

टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गर्नुभएको छ । “सेवा सुधारको प्रस्ताव ल्याउनुहोस,चुहावटको प्रस्ताव ल्याउनुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अनियमितता नगर्नुहोस । गर्नेलाई नछोड्नुहोस ।” प्रधानमन्त्री ओलीले वर्तमान सरकारले भ्रष्टाचार निर्मूल पार्ने अभियानमा रहेकोले सबैलाई साथ दिन आग्रह गर्नुभएको छ । त्यसका लागि सबै पक्षले सहयोग गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । छलफलमा प्रधानमन्त्री मूख्य सल्लाहकार बिष्णु प्रसाद रिमाल,सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटा,नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १५:४४