१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि


१५ कातिक, कनकाई । झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ ।‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भएको बताएको छ ।

यही कात्तिक १६ गतेदेखि शुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको आयोजक जायोन स्पोर्टस क्लबले यसअघि आठ वटा टोलीले सहभागिता जनाउने बताएको थियो । पछिल्लोपटक आयोजकले आफ्नो टोली पनि गोल्डकपमा समावेश गरेको छ । यसअघि तय गरिएको मिति र खेल तालिकामा आयोजक सहभागी थिएन । गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमने–सामने हुने भएका छन् ।

प्रतियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुई वटा भारतीय टोली सिक्किम आक्रामक र सङ्कटा क्लब मोलवे आसामको सहभागिता रहने बताइएको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहनेछ ।

असोज दोस्रो सातादेखि प्रतियोगिता शुरु हुने तयारी गरिए पनि मौसमको प्रतिकूलताका कारण खेल स्थगित भएको थियो । त्यसपछि आयोजकले अखिल नेपाल फुटबल सङ्घ९एन्फा० सँग कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो । एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कात्तिक १६ को मिति तय भएको बताइएको छ । एन्फासँग भएको सहमतिसँगै कात्तिक २५ गते फाइनल खेल हुने गरी प्रतियोगिता हुन लागेको छ ।

प्रतियोगिताका लागि लगभग पाँच हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाश राईले जानकारी दिनुभएको छ । दश हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताइएको छ । खेल संयोजक राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ‘ब्रान्ड एम्बेसेडर’ बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही रु १५ हजार नगद पुरस्कार पाउनेछन् ।

गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र विर्तामोडका युवा व्यवसायी सजेश शिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गर्नुभएको हो । प्रतियोगिताको विजेताले नगद रु १२ लाख ५० हजार पुरस्कार र उपविजेताले रु ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले बताउनुभएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार ०८:२९