१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

समृद्धिको यात्रामा सकारात्मक संकेत


-प्रा.ताराप्रसाद भुसाल

यतिबेला हामी नेपालीहरु ठूला चाडपर्वहरु बनाइरहेका छौ । भरखरै बडादशैं सकिएको छ । दशैंसंगै अर्को ठूलो चाड दीपावली आइसकेको छ । यसैगरी छठ पनि नजिक आइसकेको छ । यतिबेला भने तिहार अर्थात भाइटीकासंगै जोडिएको लक्ष्मीपूजा भैरहेको छ । हामी सबै अर्थात देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले लक्ष्मीपूजा मनाएका छन् । वास्तवमा लक्ष्मीपूजा नेपालका प्रमुख चाडपर्वहरू मध्यको एक महत्वपूर्ण चाड हो । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ । वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्री भनिन्छ । लक्ष्मी धनधान्यकी देवी हुन । यसकारण पनि लक्ष्मीपूजा नेपालीहरुका लागि विशेष पर्वको रुपमा रहेको छ । यसले व्यक्ति, समाज र देशको समृद्धि र विकाससंग पनि गहिरो सम्बन्ध र अर्थ राखेको छ ।

चाडपर्वको रुपमा अहिले लक्ष्मीपूजा मनाइराख्दा नेपालको विकासको पक्षलाई पनि स्मरण गर्नु सान्दर्भिक हुन आउँछ । नेपाल अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘सम्बृद्ध नेपाल सुखी नेपाली’को नारा लिएर अगाडि बढिरहेको छ । हाम्रो धार्मिक एबम पौराणिक धारणाअनुसार पनि लक्ष्मीपूजाको दिनलाई समृद्धि एवम् सुख प्राप्त गर्ने दिनको रुपमा लिने गरिन्छ । अतः अहिलेको दिनले विकासको सन्दर्भमा विशेष महत्व राख्दछ । आजको दिनलाई हामी सबै नेपालीले सरकारले अघिसारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई आत्मसात गरेर घरघरमा पुजा गर्नु सान्दर्भिक हुन जान्छ । यसले एकातिर प्रत्येक व्यक्तिको अनि परिबारको शुख र समृद्धिको कामना पुरा हुन्छ भने अर्कोतिर सिंगो देश पनि सुख र समृृद्धिको पाइलातर्फ अगाडि बढ्छ ।

दीपावलीको सन्दर्भमा लक्ष्मीको पूजा को दिनमा हामीले चिन्तन मनन र मेहनतका साथ काम गरेमा अवश्य पनि हामी अगाडि बढ्न सक्छौं । हामी लक्ष्मीमाताको पूजा आराधना र सुख तथा समृृद्धिको कामना गरयौं भने पक्कै पनि हाम्रो देश विकासको पथमा अगाडि बढ्छ । यो कुरा विगत एक वर्षको परिमाणात्मक तथ्यहरुले पनि उजागर गरेको छ । विश्व व्यापार तथा लगानीमा देखिएको घट्दोक्रम, खासगरी व्यापारमा संरक्षणवाद तथा भूराजनीतिक तनावहरू, ब्रेक्जिट, कमजोर पूर्वाधाार, संवेदनशीलताहरू र जलवाय परिवर्तन जस्ता कारणहरूबाट विश्व आर्थिक सुस्तीको चपेटामा परेको बेला नेपाल भने उत्साहका साथ अगाडि बढेको छ ।

हालसालैको विश्व बैंकको प्रतिबेदनअनुसार एसियाको समग्र आर्थिक बृद्धि विश्वव्यापी गिरावटको प्रवृत्तिको अनुरुप यस आर्थिक वर्षमा सुस्त हुने अनुमान गरिएको छ । तर, सन् २०१९ मा नेपालको आर्थिक बृद्धिदर अपेक्षाकृत उच्च रहेको छ । दक्षिण एसियाली देशहरुमा नेपालको आर्थिक बृद्धिदर बंगलादेशपछि उच्च हुने अपेक्षा गरिएको छ । नेपालको आर्थिक बिकासको दर बंगलादेश बाहेक अन्य देशको भन्दा द्रूत बृद्धि हुने अनुमान गरिएको छ । नेपालमा यस आर्थिक बर्ष र आगामी आर्थिक वर्षमा जीडीपीको वृद्धिदर ७ दशमलब १ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । बढ्दो पर्यटक आगमन र उच्च सार्वजनिक खर्चका कारण सबल सेवा र निर्माण गतिविधिद्वारा यस्तो आंकलन गरिएको हो । स्थिर सरकार र पहिलेभन्दा विकास खर्चमा बृद्धि भएकोले यस्तो सम्भव भएको हो । त्यसैगरी एसियाली विकास बैंकको प्रक्षेपणअनुसार अर्थव्यवस्था अघिल्लो बर्षको ६.९५ बाट बृद्धि भई यस आर्थिक वर्ष मा ७.१५ को दरले वृद्धि हुने अनुमान गरिएको छ । भूकम्प पछाडि पुनरनिर्माण कार्य तीब्र रुपमा हुनु, अनुकूल मनसुन, बिजुली आपूर्तिको राम्रो व्यवस्थापन एवम् पर्यटकहरुको आगमनमा उल्लेख्य बृद्धि भएको कारणले गर्दा आर्थिक विकासको दर उच्च भएको हो । यसले गर्दा आगामी वर्षमा देशको आर्थिक विकासको गति योजना आयोगले राखेको पाँच बर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदरको लक्ष्य हासिल हुने प्रशस्त सम्भावना देखिन्छ ।

सन् २०२० को लागि विश्व बैंकको ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपाल अघिल्लो बर्षको तुलनामा १६ बिन्दु ले अगाडि चढेको छ । बिगतमा ११० औं स्थानमा रहेको नेपाल यो बर्ष ९४ औं स्थानमा रहेको छ । विश्वमा नेपालको छबी क्रमशः सुधार हुँदै आएको र सरकारले देशमा व्यावसायिक वातावरण सहज बनाउन गरेको प्रयासले नै यो सम्भव भएको हो । गत वर्षको शुरुमा विश्व बैंक समूहको डुइङ बिजनेस सूचकांकमा नेपालको स्थान पाँच स्थान झरेर ११० औं स्थानमा पुगेको थियो । स्मरण रहोस डुइङ बिजनेस सूचकांक शून्यदेखि सयमा मापन गरिन्छ । शून्यले व्यापार गर्नको लागि सबैभन्दा खराब र सय अंक भएमा व्यापार गर्न सबैभन्दा सजिलो हुने संकेत गर्दछ ।

त्यसैगरी नेपाल वर्ल्ड हयाप्पीनेस सूचकांकमा अघिल्लो बर्षको ४ दशमलब ८ अंकका साथ १०१ औं स्थानमा थियो भने यस वर्ष ४ दशमलब ९ का साथ १०० औं स्थानमा रहेको छ । प्रतिवेदनमा छिमेकी मुलुक भारत १४०औं स्थानमा छ । दक्षिण एसियाली देशहरुमा पाकिस्तान ६७औं स्थानमा, भुटान ९५औं स्थानमा, बंगलादेश १२५ औं स्थानमा, श्रीलंका १३०औं स्थानमा र अफगानिस्तान १५४औं स्थानमा छ । दक्षिण सुडान सबैभन्दा कम खुशी देश हो जुन १५६औं स्थानमा अर्थात् सबैभन्दा पछाडि रहेको छ ।

लेखक भुसाल ।

यस बाहेक दिगो विकासका लक्ष्यहरुको प्राप्तिमा पनि नेपाल सकारात्मक दिशामा अगाडि बढेको छ । सन् २०२२ मा नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदोन्नति हुने लक्ष्य प्राप्ति हुने देखिन्छ । नेपालले विकासोन्मुख देशमा पदोन्नति हुनका लागि संयुक्त राष्ट्र संघले तय गरेको तीनवटा मापदण्ड मध्य दुईलाई पूरा गर्नुपर्नेछ । प्रति व्यक्ति कुल गहन राष्ट्रिय आय र मानव सम्पत्ति सूचकांकको थ्रेसोल्ड जसमा स्वास्थ्य, र पोषण सूचकांक र शिक्षा समावेश छन । यस प्रकार विभिन्न राष्ट्रिय एवम् अन्तरराष्ट्रिय सूचकहरुले पक्कै पनि नेपालले आर्थिक विकासमा बिस्तारै फड्को मार्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका देखिन्छन् । सरकारले बार्षिक नीति तथा कार्यक्रम र प्रस्तुत बजेट अनुसारका कार्यक्रमहरु बेलैमा सम्पन्न गर्न सकेमा नेपालले अवश्य पनि आशातीत उपलब्धि हासिल गर्नसक्छ ।

यति हुँदाहुँदै पनि विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कारणहरुले गर्दा नेपालको तीब्र आर्थिक विकासको गति हासिल गर्नका लागि निकै चुनौतीहरु रहेका छन । अमेरिका र चीनको ब्यापार युद्ध, ब्रेक्जिट प्रकरण, विश्वव्यापार तथा लगानीमा देखिएको घट्दोक्रम, खासगरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, कमजोर बजार संवेदनशीलताहरू जलवायु परिवर्तन र चीन र भारतमा देखापर्दै गएको सुस्ती आदिको जस्ता कारणहरूबाट विश्वमा देखिएको प्रभाब नेपालको अर्थतन्त्रमा नपर्ला भन्न सकिदैन । त्यसबाहेक बजेट अनुसार समयमा खर्च गर्न नसकिनु, प्रदेश र पालिकहरुमा हाँक्नसक्ने क्षमता हासिल गर्न नसक्नु, अझै पनि बित्तीय ब्यबस्थापन र बाँडफाँडसम्बन्धी कानुन बन्न नसक्नुजस्ता चुनौतीहरु रहेका छन् ।

यसैगरी हालका दिनहरुमा रेमिट्यान्समा आएको गिरावट एबम् रेमिट्यान्स प्रवाहमा अचानक कमी आउँदा निक्षेप कम हुनसक्छ । जसले अर्थव्यवस्थामा लगानीयोग्य कोषको उपलब्धता सीमित गर्दछ । यसले निजी लगानी र आयात, उपभोग र वृद्धिलाई असर गर्नसक्छ । रेमिट्यान्स प्रवाहले गरिबी घटाउन मद्दत पुराउँदै आन्तरिक उपभोगलाई प्रभाव पारेको हुन्छ । यसले अर्थव्यवस्थालाई आयातका लागि विदेशी मुद्रा कमाउन पनि मद्दत गरेको छ । तर, खाडी क्षेत्रको भू–राजनीतिक तनाव र तेलको अनिश्चित मूल्यको कारण रेमिट्यान्समा नकारात्म प्रबाह पर्न जान्छ । यस्तो प्रवृत्तिले रेमिट्यान्स प्रवाहमा दबाब दिन सक्छ । यसले बैदेशिक मुद्रा र बचतको एकस्रोतको रूपमा रेमिट्यान्समा भारी निर्भरता कम गर्नपर्ने कुरालाई उजागर गर्दछ । निर्यातलाई प्रोत्साहन र विविधिकरणमा अझ ठूलो फोकस आवश्यक छ ।

यी बाहेक हाम्रो देश विकास हुन नसक्नुमा हामीबीचमा एउटा समान राष्ट्रिय धारणा बन्न नसक्नु पनि एउटा कारण हो । हामी नेपालीहरुमा खाली नकारात्मक दृष्टिकोण ले मात्र हेर्ने बानी देखिन्छ । सरकारले गरेका राम्रा कामहरुलाई समर्थन गर्ने र रचनात्मक कामका लागि सल्लाह सुझाब दिने कुरा प्रतिपक्षको त के कुरा आफ्नै पार्टीका नेता कार्यकर्ताहरुमा पनि देखिदैन । सरकार एउटा आबधिक चुनावबाट आएपछि उसलाई बिना रोकतोक काम गर्न दिनुपर्छ । चुनावपछि सरकार बन्छ अनि त्यो सरकार नेपालीहरु सबैको हो भन्ने कुरामा प्रतिपक्ष एवम् अन्य सबैले मनन गर्नु पर्छ र सरकारले पनि त्यसको अनुभूति दिने काम गर्नु पर्दछ । तर, बिडम्बना हामी कहाँ यस्तो प्रबृत्ति कहिले पनि देखिएन ।

अझ कतिपय कुरामा त प्रधानमन्त्रीको सोचअनुसार पनि मन्त्रीहरुले जिम्मेवारी बोध नगरेको देखिन्छ । यसले गर्दा आज देशमा जुन गतिमा विकासका कार्यक्रमहरु सञ्चालन हुनु पर्ने हो त्यसो हुन सकेको देखिदैन । यो नै हाम्रो नेपालको ठूलो बिडम्बना हो । धनधन्य कि देवी लक्ष्मीको पूजा आराधना गरी हामी सबैको मन मस्तिकमा, घर परिवारमा अनि समग्र देशमा सुख समृृद्धि एबम ऐश्वर्यले छावोस अनि वर्तमान सरकारले अघि सारेको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ सफल होस । अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले भन्नु भएजस्तै नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अवस्थामा आर्थिक बृद्धि, रोजगारी सृजना, समावेशी विकास र आयको वितरणजस्ता पक्षमा संघीयता कार्यान्वयनले सकारात्मक सहयोग पुराएर चालु आर्थिक बर्षको बजेट र पन्ध्रौँ योजनाले राखेका लक्ष्य तथा उदेश्यहरु पूरा गर्नेतर्फ लागौं, समस्त नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा यही नै शुभकामना ।

(लेखक भुसाल त्रिवि, अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुनुहुन्छ।)

प्रकाशित मिति : १० कार्तिक २०७६, आईतवार १४:२५