१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी रिपोर्टरको कोटामा राष्ट्रपतिसँगै विदेश


६ कात्तिक, काठमाडौँ । मुलुककै जेठो प्रकाशन गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी रिपोर्टरको कोटामा सुटुक्क विदेश गएको पाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार र जापानको भ्रमणमा भण्डारी रिपोर्टरको कोटामा उडेका हुन । कार्यकारी अध्यक्ष नै रिपोर्टरको कोटामा विदेश गएपछि पर्याप्त समाचार आउँछ भनेर मख्ख परेका डेस्कका सम्पादकहरू भने राससको समाचार तोडमोड गरेर हाल्न विवश भएका छन । रिपोर्टरको कोटामा कार्यकारी अध्यक्ष नै विदेशिएपछि गोरखापत्र संस्थानभित्र उनको चर्को आलोचना भएको छ ।

भण्डारीले भ्रमणको दौरानामा एउटा टिपोट तयार परेको र उक्त टिपोट लेखका रूपमा गोरखापत्र र राइजिङ नेपालमा मंगलबार प्रकाशित भएको थियो । जसमा म्यानमार भ्रमणको गतिबिधि समेटिएको थियो । विशिष्ट श्रेणीको सेवा सुविधा भोग गरेर गोरखापत्रमा कार्यकारी अध्यक्षको रूपमा रिटायर्ड लाइफ बिताइरहेका भण्डारीले गोरखापत्रका लागि आएको पहिलो अवसरनै आफैँले अरू कसैलाइ जानकारी नदिइ उपयोग गरेका हुन ।

स्रोतका अनुसार गोरखापत्रको टिमले राष्ट्रपति भण्डारीको सचिवालयसँग नेपाल टेलिभिजन, रासस र रेडियो नेपाल समेतलाइ रिपोर्टिङमा लैजाने भएपछि गोरखापत्र पनि थप्नुपर्यो भन्ने अनुरोध गरेको थियो । त्यसपछि राष्ट्रपति कार्यालयबाट गोरखापत्रका अध्यक्षसँग नाम मागियो जहाँ भण्डारीले आफ्नै हात जगन्ननाथ गरे र आफ्नो नाम पठाए ।

राष्ट्रपति विदेश जाने एक दिनअघिमात्र गोरखापत्रको सिनियर टिमले भण्डारी रिपोर्टरको कोटामा विदेश जान लागेको थहा पाए त्यो पनि अन्य सञ्चारमाध्यमको साथीहरूबाट । अहिले गोरखापत्रका पत्रकारहरू यही प्रकरणले आक्रोशित बनेका छन । रिपोर्टरको कोटामा कार्यकारी अध्यक्ष कार्यकारी सम्पादक बनेर घुम्न गएपछि आक्रोश हुनुपनि स्वभाविक हो । स्रोतका अनुसार भण्डारीले म्यानमार र जापानमा भने कार्यकारी सम्पादकको रूपमा आफ्नो परिचय गराएका थिए ।

नेपाली कांग्रेसप्रति बफादार भण्डारीलाइ सरकारले गोरखापत्र राम्रो बनाउने भनेर कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो तर भण्डारीले गोरखापत्रमा सुधारको काम केही गर्न सकेनन् । बरू उल्टै उनी कांग्रेस कार्यकर्ता भर्ति गर्ने र बद्नाम भएका केही व्यक्ति अघिपछि लगाएर सानो घेरमा बस्ने गरेका छन । पछिल्लो पटक नियुक्ति लिएका टीकाराम राइको कारण सबैजसो कर्मचारी आजित भएका छन । कर्मचारीहरूका अनुसार अहिले गोरखापत्रमा कांग्रेस निकटका लागि छानीछानी पुरस्कृत गर्ने र पूर्व एमालेहरूलाइ छानीछानी भित्तामा पुर्याउने काम भैरहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ०९:०२