६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

पार्टी नेताका अभिव्यक्तिलाई लिएर धेरै चिन्ता नगर्न प्रधानमन्त्री ओलीको आग्रह (भिडियोसहित)


५ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अजरवैजानको राजधानी बाकुमा यही कार्तिक ८ र ९ गते आयोजना हुने असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा निशस्त्रिकरण, आपसी सहयोग र विश्वशान्तिमा आफूले विशेष जोड दिने बताउनु भएको छ। नेपाल टेलिभिजनका लागि कर्यकारी अध्यक्ष डा महेन्द्र बिष्टलाई दिनु भएको विशेष अन्तरवार्तामा प्रधानमन्त्री ओलीले पृथकतावाद, आर्थिक असमानता र हतियारको होडबाजीले गर्दा असंलग्नताको महत्व उत्तिकै रहेको उल्लेख गर्नुभयो ।

चीनका राष्ट्रपति सी चीन फिङको हालै सम्पन्न नेपालको राजकीय भ्रमणबाट आपसी सद्भाव अभिवृद्धि हुनाका साथै भ्रमणको बेला भएका २० वटा सम्झौता सन्धी र समझदारीले नेपालको विकासमा महत्वपुर्ण योगदान पुग्ने प्रधानमन्त्री ओलीले बताउनु भयो । नेपालले सबै मित्रराष्ट्रहरुसंग सम्बन्ध सुमधुर राख्दै आपसी सहयोग बढाउन चाहेको र एउटा देशसंग सम्बन्ध सूदृढ गर्दा अर्को कुनैपनि छिमेकी राष्ट्रको अहित नचिताएको बताउनु भयो।

प्रधानमन्त्री ओलीले पार्टी एकिकरणलाई पुर्णता दिने कार्यमा केही बिलम्ब भएपनि दुई अध्यक्षबिचको सम्बन्ध सुमधुर रहेको, एकतामा कुनै ब्यबधान नरहेको र असमझदारी वा विवादको अवस्था समेत नरहेको बताउनु भयो। पार्टीका नेताहरुबाट ब्यक्त हुने अभिब्यक्तिलाई लिएर धेरै चिन्ता नगर्नपनि प्रधानमन्त्रीले आग्रह गर्नु भयो। यो समाचार र भिडियो दुबै नेपाल टेलिभिजनमा साभार गरिएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार २२:४९