१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नुवाकोट गोल्डकपमा व्यापक भ्रष्टाचार, आयव्यय सार्वजनिक भएन, नेकपाका नेता बुद्धि प्रधान मुछिए


३ कात्तिक, काठमाडाैँ । नुवाकोट गोल्डकप प्रतियोगितामा व्यापक भ्रष्टाचार भएको अाशंका गरिएको छ । प्रतियोगिताको अाय व्यय बिबरण सार्वजनिक गर्न अानाकानी गरेको छ । विदुर नगरपालिकाले ठूलो लगानी गरेको प्रतियोगितामा मिलेमतोमा भ्रष्टाचार भएको अाशंका गरिएको छ । स्थानीय तहले स्थानीय स्तरमा खेलाडी उत्पादनका लागि लगानी गर्नुपर्नेमा विदुर नगरपालिकाले विदेशी खेलाडीलाइ नुवाकोटमा ल्याएर फुटबल खेलाउन लाखाैँ लगानी गरेको छ । यद्यपी त्यस्ता कार्यक्रमको खर्च बिबरण लामो समयसम्म सार्वजनिक हुन सकेको छैन । प्रतियोगिताका लागि जिल्लाका अन्य स्थानीय तहले पनि लाखाैँ रूपैयाँ सहयोग गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटवल संघले संयुक्त रुपमा आयोजना गरेको नुवाकोट गोल्डकपको आयव्यय झन्डै डेढ वर्ष देखि सार्वजनिक हुन सकेको छैन । २०७५ साल जेठ १७ गतेदेखि २६ गतेसम्म भएको प्रथम नुवाकोट गोल्डकप र यहि जेठ २२ गतेदेखि ३१ गतेसम्म संचालन भएको प्रतियोगिताको हिसाबकिताब अझै सार्वजनिक हुन नसक्दा पछिल्लो समय जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघ आलोतिच बन्न पुगेको छ ।

नुवाकोट फुटवल संघ स्रोतले जनाए अनुसार पहिलो गोल्डकपमा आयोजकले टिकट बिक्रीबाट १२ लाख ८५ हजार रुपैयाँ उठाएको छ । तर प्रतियोगिताका संयोजक रहेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर प्रधान गोल्डकपको आम्दानी कति भयो भन्ने विषयमा आफै बेखबर रहेको बताउँछन । उनी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत हुन । त्यस्तै आर्थिक समितिका संयोजक समेत रहेका नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारलाई आम्दानीबारे प्रश्न गर्दा जिल्ला खेलकुद विकास समितिका संयोजकलाई सोध्न भनेर पन्छिने गरेका छन । त्यस्तै एन्फाका केन्द्रिय सदस्य पुर्णमान चित्रकार पनि सोही गरि पन्छने गरेका छन ।

तर नुवाकोट गोल्डकपको खातामा भने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रधान, एन्फाका केन्द्रिय सदस्य पुर्णमान चित्रकार र नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारको हस्ताक्षर चल्ने गरेको छ । आफ्नो खातामा जम्मा भएको रकम र निकालिएकोे रकमको बारेमा उनीहरु नै बेखबर बन्नु आफैमा रहस्य छ । यस विषयले गोल्डकपको हिसाबकिताब कसले संचालन ग¥यो भन्ने प्रश्न समेत उब्जिएको छ ।

पहिलो गोल्डकपमा दर्शकका लागि बनाइएको प्याराफिट दोस्रो गोल्डकपमा आएर दुई गुना बढी बनाइएको थियो । जस अनुसार पहिलो गोल्डकपमा टिकट बिक्रीबापत १२ लाख ८५ हजार रुपैयाँ टिकट बिक्रीबाट आएपनि दोस्रो गोल्डकपमा आएर टिकट बिक्रीबाट जम्मा ७ लाख मात्र आएको आयोजकको स्रोतले बतायो । तर दोस्रो गोल्डकप विवादित बनेपनि दर्शकहरुको मैदानमा बाक्लै उपस्थिति रहेको थियो ।

प्रतियोगिताको अवधिभर बट्टारका विभिन्न होटलमा खेलाडी र पाहुना राखेबापत करिव १७ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको होटल संचालकहरुले बताएका छन । विदुर खबरलाई प्राप्त जानकारी अनुसार नुवाकोट ११ का फुटवल प्रशिक्षक समेत रहेका देवनारायण चित्रकारको होटलमा पहिलो गोल्डकपको ६ लाख रुपैयाँ सहित १०, होटल रन्जितको ४ लाख रुपैयाँ, होटल स्क्वायर र सन्ध्या होटल एक÷एक लाख रुपैयाँ , दियालो गेस्ट हाउसको ७० हजार रुपैयाँ र मैदानसैग रहेको माईलादाईको रेष्टुरेन्टको गरि १७ लाख रुपैयाँभन्दा बढी रहेको नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ ।

त्यस्तै मैदानमा काम गर्नै कामदारहरु माईला कुमाल र श्याम कुमालको समेत अझै पारिश्रमिक नदिएको उनीहरुले बताएका छन । पारिश्रमिक माग्दा सधै छैन भन्ने जवाफ आउने गरेको छ, माईला कुमालले भने । त्यस्तै मैदानमा रङरोगन गरेको समेत पैसा समेत आयोजकले नदिएको बताइएको छ । विदुरखबर डटकमको सहयोगमा तयार । 

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १५:००