१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रक्सी मिठो कि साहुनी मिठी भेउ पाउनै सकिन (उपन्यास अशं)


-प्रकाश तिवारी

दैनिक आठ–नौ सय मानिसहरूको जमघट हुने भएपछि नयाँ किरण माध्यमिक विद्यालय वरपर थुप्रै पसल र होटल थपिए । भट्टीहरू खोलिए । साँझ परेपछि चलाएमान हुँदै जाने होटल– भट्टीहरू अबेर रातिसम्म गुल्जार रहन्थे । दुईचार पैसा कमाइ हुने स्थानीय युवाहरू यिनै होटल–भट्टीहरूमा जान्थे अनि केही गिलास मदिरामा लठ्ठिँदै घर फर्किन्थे । एकचिम्टी मुस्कानले व्यापारलाई तेब्बर बनाउन सक्छ भन्ने जानेका तरुनी साहुनीहरू मुसुक्क हाँस्दै रक्सीको गिलास टक्¥याउँथे । यदाकदा ग्राहकको मनोवृत्ति हेरेर छिलिएको कुरा पनि गरिदिन्थे ।

भट्टी पसलमा यौटी उजेली नाम गरेकी रूपवती युवती थिई । रूप हेर्नकै लागि भए पनि धेरै युवा ग्राहक उसको भट्टीमा लुसुक्क छिर्थेे । हुन पनि उजेली विश्वसुन्दरीजस्तै थिई । गीत गाउनमा उस्तै खप्पीस थिई उजेली । ऊ ग्राहकसँग आधारातसम्म गीत गाएरै बसिदिन सक्थी । उसको लोग्ने मानबहादुर पनि गाउनमा कम कहाँ थियो र तर ग्राहक नभडकिउन् भन्ने अभिप्रायले प्रायः ऊ परै बस्थ्यो ।

दुई वर्षअघि इलम बजारको मेलामा मानबहादुर र उजेलीको पहिलो भेट भएको थियो । अनि चल्यो दोहोरी । दोहोरी एक रात, एक दिनसम्म लगातार चलिरहह्यो । अन्त्यमा मानबहादुरले जित्यो । उजेली हारी । पूर्वसर्त अनुसार उजेली मानबहादुरकी श्रीमती भएर आई । उजेलीजस्ती हँसिली, रसिली र जाँगरिली श्रीमती पाएकोमा मानबहादुर दङ्ग थियो । रसरङ्गमा रुचि हुनेहरू साँझ उसैकोमा जान्थे ।

एक दिन रक्सीको मात चढ्दै गर्दा पच्चिस वर्षे लक्का जवान असारेले उजेलीलाई सोध्यो– ‘रक्सी मिठो कि साहुनी मिठी हुन् भेउ पाउनै सकिन !’ असारे रसिक हुन थालेको चाल पाएर मानबहादुर भट्टीबाट खुसुक्क बाहिरियो ।

‘साहुनी नमिठी भाकीभा हाम्रा बुढाले इलम बजारदेखि ल्याउँते त !’ मुस्कानसहित उजेलीले भनी ।
‘जाने हो त मसँग ? के छ विचार !’ झनै रसिक हुँदै असारेले सोध्योे ।

‘मेरा बुढाकोजस्तो आँट चाहियो नि आँट । मलाई पाउन एक रात एक दिन खर्लप्पै गाएर छिचोलेका थिए ।’
‘रात छिचोलेर हुने भा म पनि आज यतै बसिदिउँला नि !’

‘नानीको खुट्टी देखेर चाल पाइयो…!’ बुढी औँला हल्लाउँदै उजेलीले भनी ।

‘म के कुरोमा कम छु भन्ठानेकोे तिम्ले ? इन्डिया छँदा मत्ता हात्ती वशमा पारेकोे मान्छे हुँ !’

‘भोभो धेरै फुर्ती नलाऊ । श्रीमती देख्यो कि रुझेको बिरालोजस्तो हुन्चौ ! मलाई था छैन !’

‘मेरी श्रीमती चोर औला ओठनेर राखेर चुप ! भन्नासाथ थरथरी काम्चे । के कुरा ग¥या तिम्ले ।’

‘स्वास्नीका पछाडि जति फुइँ लाए पनि भो नि ! बरु भन, एक क्वाटर थपूँ ?’

‘सुत्ने ठाउँ दिने भा थप्चु नि, किन नथप्नू ! दिन्च्यौ ?’

‘मैले तिम्लाई नसुत भनेकी छु र ।’

‘उसो भा देऊ न त ।’

उजेलीले थप एक क्वाटर टक्¥याई ।

‘असारेलाई रक्सी सुँघ्यो कि लायोे ! एक क्वाटर खाँदैमा बोली लरबरिइसक्यो !’

‘बोली लरबराए नि शरीर लरबरा छैन क्या । बरू भन, हाम्रो ओछ्यान कता हो ?’

‘ऊ त्याँ भुइँमा सुत्नी !’

‘दयामाया नभाकी निठुरी ! खाट के त ?’

‘खाटाँ बुढा र म सुत्न परेन ?’

‘अनि म एक्लै …..!’

‘घराँ स्वास्नी छँदैछन् । घर गर सुत्नी !’

‘मलाई त्यो राँडसित सुत्नै मन लाग्दैन भन्या ! लोग्ने देख्यो कि ठास्सठुस्स गर्न थाल्चे !’

‘बेलाँ घर जानपर्यो नि । यति खाइसकेर जाऊ ।’

‘जान्चुजान्चु तिम्राँ बस्तिन । आउनीलाई स्वागत जानीलाई बाईबाई भन्या यै हो ।’

असारेले छिटोछिटो रक्सी तान्न थाल्यो ।

त्यतिनखेरै असारेकी श्रीमती लठ्ठी बोकेर भट्टीमा छिरी । श्रीमती आएको देखेर असारे निलोकालो भयो ।

‘के भो ? किन ठुस्सिएकी त्यसरी ?’ के भनुँनभनुँ भएको असारेले सोध्यो ।

‘दिनदिनै आधारातसम्म कुकुरको मुत धोक्नेसित हाँसिराख्न प¥यो हैन ! एकदिन हैन, दुईदिन हैन ! ल खा….!’ उसले असारेको तिघ्रामा एक स्वाँठ कसेर हानी ।

असारे मरे बाबा ! भन्दै सुइँकुच्चा ठोक्योे । श्रीमती लघार्दै पछिपछि दगुरी ।

असारेलाई श्रीमतीले लघारेको केहीबेरमै रमन भट्टीमा पस्यो ।

‘आउनुस् आउनुस् रमन सर ! आज निकै ढिलो गर्नुभो ?’

जुनेलीले मुस्कुराउँदै भनी ।

‘केटी हेर्न पालुङटार गाथेँ । आउँदाआउँदै ढिलो भो ।’ उसले भन्यो ।

‘यसै साल झ्याइँझ्याइँ बाजा बजाउने विचार छ कि क्या हो सरको ?’

‘भन्या त हो तर जस्तातस्ता आँखै लाग्दैनन् । तिम्रो रूप देखेपछि त सबै फिका लाग्चन् ।’

‘आ.. सर पनि ! हामी भन्या मुतान्यानो हौँ क्या ! अब बिहा गर्नतिर लाग्नुस् ।’ लाडिएझैँ उजेलीले भनी

उजेलीले रमनलाइ सधैँको झैँ एक क्वाटर रोयल स्ट्याग र एक प्लेट मासु टक्¥याई । रमन मासुको चौटा लुछ्दै रक्सी तान्न थाल्यो ।
‘आफू ताक्चु मुढो बन्चरो ताक्च घुँडो भनेजस्ता कुरा नगर न उजेली ।’।

‘यौटी आइमाई कति टुक्रामा बाँडिन सक्चे र सर ! बिहा गर्नुन्च भने मैले यौटी खासा राम्री केटी देखेकी छु ।’
‘को केटी भन त ?’

‘हाम्रो यतै की । खुब राम्री, टाठी पनि । सरले कस्ती ताक्नुुभा हो ?’
‘कस्का कुरा गरेकी तिम्ले ?’

‘सरकै स्कुलाँ पढाउँचिन् । ऊ क्या चन्द्रप्रसादकी छोरी शारदा ।’

‘कामीसित पल्केकी घमन्डीको कुरै नगर । जोकोहीलाई मान्छे गन्दिन ।’

‘नथ्थी लाउन जान्नुुप¥यो नि सर !’

‘त्यै त, अब तेल्लाई नथ्थी नलाई नहुनी भाछ ।’

रातको साँढे दश बजिसकेको थियो । रमन छिटोछिटो रक्सी तानेर निक्लियो ।

उता श्रीमतीको खेदाइमा परेको असारेको घर पुग्दा आधा नसा उत्रिसकेको थियो ।

ऊ हस्याङ्फस्याङ् गर्दै घरभित्र छिर्योे । भात खानुअघि असारेले खाएको सबै बान्ता ग¥यो ।

‘यसरी थाम्नै नसक्ने गरी खानी हो त ?’ श्रीमती कराई ।

‘धेरै नकराउ न । मलाई रक्सी लाकै छैन क्या ।’

‘नलाग्या भए अझै धोक् न त कुकुरको मुत ।’

‘मेरी मैयाँ कति राम्री ! आई लब यु मेरी बुढी !’ असारेले श्रीमतीको ओठमा आफ्नो ओठ बलजफ्ती जोड्यो !

‘थुइक्क ! घिच्न पनि कति घिचेका रैच त ! वा.. वाक..! बान्तै होलाजस्तो भो मलाई त ।’ मुख बिगार्दै उसले भनी

(सर्बनाम थिएटर कालिकास्थानमा शुम्रबार दिउँसो २ बजे विमोचन भएको उपन्यास ‘निहारिका’को अंश)

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार ११:०९