१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल भ्रमण वर्ष सफल पार्न म्यान्माका नेपालीलाई राष्ट्रपति भण्डारीको आग्रह


१ कात्तिक, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न म्यान्मामा रहेका नेपाली मूलका मानिसहरुलाई आग्रह गर्नुभएको छ । अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक सङ्घद्वारा आज पिन ऊ लिन शहरमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सर्वोच्च शिखर सगरमाथाको प्रचारप्रसार गर्न पनि उनीहरुलाई आह्वान गर्नुभयो ।

म्यान्मामा रहेका प्रवासी नेपालीले नेपाली भाषा, संस्कृति र वेशभूषाको संरक्षण गरेकामा र म्यान्मासँगको नेपालको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले म्यान्मासँग नेपालको व्यापार, लगानी, पर्यटन र संस्कृति विषयको प्रवद्र्धन गर्न म्यान्माली नेपालीभाषीलाई आग्रह गर्नुभयो । उहाँले आफ्ना पूर्वज जस्तै उद्यमी र परिश्रमी बन्न उनीहरुलाई आग्रह गर्दै भन्नुभयो, “दुई देशबीच सम्बन्ध प्रगाढ बनाउनका लागि भूमिका खेल्नुहोस् , नेपाललाई मनमा राखी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुहोेस् । ”

सो अवसरमा म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले भारतीय नेपालीपछि म्यान्माली नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिको बढी संरक्षण गरेको बताउनुभयो । उहाँले विश्वयुद्धमा करीब ३०० नेपालीले म्यान्मामा वीरत्व प्राप्त गरेको र शुभबहादुर राईलगायतले बेलायतको भिसीसरह पदक प्राप्त गरेको बताउँदै शहादतप्राप्त नेपालीको सम्मानमा राजदूतावासको आयोजनामा वर्षेनी श्रद्धाञ्जलि कार्यक्रम राख्ने गरिएको जानकारी दिनुभयो ।

धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेले करीब डेढ लाख नेपालीभाषीले म्यान्मामा आनन्द र शान्तिपूर्वक जीवनयापन गरिरहेको बताउँदै आफूहरुले २५० पाठशाला चलाई आफ्ना छोराछोरीलाई नेपाली भाषा साहित्यबारे अध्यापन गरिरहेको जानकारी दिनुभयो । उहाँले सन् २०२०मा नेपाल भ्रमण वर्ष सफल पार्न सङ्घले नेपाल भ्रमण अभियान चलाउने भएको पनि बताउनुभयो । सङ्घका संरक्षक मणिलाल पौडेलले राष्ट्रपतिको म्यान्मा भ्रमणका क्रममा नेपालीभाषीहरुसँग भएको भेटले आफूहरु निकै भाग्यमानी भएको बताउँदै नेपालीहरु सधैँ मिलेर बसून् भन्ने कामना गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीहरुलाई आज नेपालमाताको दर्शन गरेसरह नै भएको छ, हामी नेपाल आमाको काखमा नै छौँ भन्ने अनुभूति भएको छ ।” उहाँले नेपाल भ्रमण गर्दा म्यान्मालीलाई प्रवेशाज्ञा निः शुल्क गरियोस् भन्ने माग पनि गर्नुभयो । सो अवसरमा धार्मिक सङ्घले नेपाली प्रतिनिधिमण्डललाई मायाको चिनो प्रदान गर्नाका साथै दिवाभोजको पनि आयोजना गरेको थियो । पिन ऊ लिनमा करीब १५ हजार नेपाली रुवी(मणि), दुग्ध, खनिज, फोटो तथा खेतीबारी आदि व्यवसाय गरेर बसेका छन् । यहाँ नेपालीहरुले दशैँ, तिहार, तीज आदि चाडपर्व मनाउने गरेका छन् । रासस

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार २२:४२