१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम भोलि र पर्सी, आफ्नो बालबालिकालाई नछुटाई खुवाउनुस


१ कात्तिक, काठमाडाैँ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यही कात्तिक २ र ३ गते सो कार्यक्रम सञ्चलन हुँदैछ ।कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), छ महीनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो । मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।”

किन आवश्यक भिटामिन ए पर्छ ?

बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताउनुभयो । यसैगरी सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइने छ । जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ ।

यसैगरी बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँच वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् । पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराका बारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत रहेको छ । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार २२:२१