नेपाल-चीन सम्बन्धः नयाँ युगमा बहुआयामिक साझेदारीः उपप्रमुख थापा
२७ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचार तथा प्रकाशन केन्द्रीय विभागका उपप्रमुख सूर्यबहादुर थापाले नेपाल–चीन सम्बन्धमा नयाँ युगमा बहुआयामिक साझेदारी भएको बताएका छन । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुइ दिने नेपाल भ्रमणको भोलिपल्ट सोमबार ‘सिल्क रोड युथ फोरम’ले काठमाडौँमा आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’मा कार्यपत्र प्रस्तुत गर्दै उपप्रमुख थापाले राष्ट्रपति सीको भ्रमणले दुइ देशको बीचमा नयाँ युगको प्रारम्भ गरेको बताए । उनले राष्ट्रपतिको भ्रमणका क्रमममा भएका साझेदारी कार्यान्वयनमा जोड पनि दिए ।
उपप्रमुख थापाले कार्यपत्र मार्फत सीले व्यक्त गरेका केही प्रतिवद्धता बुँदागत रूपमा प्रस्तुत गरे । उनले सी विचारधाराको विश्वव्यापी बहस भैरहेको सन्दर्भमा त्यसलाइ नयाँ युगमा चिनियाँ विशेषताको समाजवादको रूपमा व्याख्या गरे । थापाले भ्रष्टाचारविरूद्धको कठोरता, आत्मअनुशासन र अनुगमन, वेल्ट एण्ड रोड इनिसियटिभ, सुपरपावर चिनयाँ स्वाभिवान, मानवीय र न्यायपूर्ण विश्वव्यवस्था लगायतका विषय सी विचारधाराको विशेषता रहेको उल्लेख गरे । उपप्रमुख थापाले एेतिहासिक मोड र नीति, उच्चस्तरीय भ्रमणको आदान-प्रदान, मित्रताको एेतिहासिक परिप्रेक्ष लगायतका विषयमा विश्लेषण गरेका थिए । कार्यक्रममा १० जनाले विभिन्न विषयमा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए । उनले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको बताए । सोही कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल अहिले विश्वमै धेरै युवा जनसङ्ख्या भएको मुलुकमध्ये एक रहेको उल्लेख गर्दै दुवै देशका युवाबीच रोजगारी सिर्जना र व्यावसायिक योजनामार्फत दुवै देशले लाभ लिनसक्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा उपाध्यक्ष तथा महासचिव यङ दोङपिङले नेपाल र चीनबीचको सम्बन्ध माथि प्रकाश पार्दै दुवै देशको आर्थिक विकास र समृद्धिका लागि द्विपक्षीय सहकार्यमा जोड दिएका थिए ।
प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार २२:३०