१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गरेर काठमाडौँका ३० किलोमिटर सडक मर्मत


२३ असोजकाठमाडौँ,  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको कुनै पनि सडकमा खाल्डाखुल्डी बाँकी नराख्न दिएको निर्देशनका आधारमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री महासेठले आज राजधानीका विभिन्न स्थानका सडकको अनुगमन गर्दै सडक सुधारका लागि निर्देशन दिनुभएको थियो । आठ मिटरभन्दा बढी चौडाइका सडक मन्त्रालयअन्तर्गतका निकायले सुधारको काम गरिरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताउनुभयो । त्योभन्दा कम चौडाइमा काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले काम गरिरहेका छन् ।

उहाँले भन्नुभयो, “मन्त्रालय र महानगर मिलेर मुख्य सडकमा कतै पनि खाल्डा बाँकी नराख्न लागिएको छ ।”मन्त्रालयले हेर्ने सडक निर्माण सडक विभाग र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेका छन् । दशैँ तिहारका समयमा वर्षेनी सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । माइतीघरदेखि तीनकुनै सडकमा पर्ने बिजुलीबजार र तीनकुने पुल सम्पन्न भइसकेका छैनन् । यी दुई पुलमा भने सरकारले फोटो टाँसेको देख्न सकिन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार १५:१३