१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भदाै २८ देखि रसुवाको जंगलमा हराइरहेका दक्षिण कोरियाका नागरिक सिसुङको खोजी तीब्र


२३ असोज, काठमाडाैँ । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ राहदानी नम्वर एम ओ ८११८३५५ को खोजी भइरहेको हो । दुई दिनदेखि नेपाल प्रहरीका साथै भिरपाखोमा सहजरूपले हिँड्न सक्ने १० थप दक्ष जनशक्ति र स्थानीय बासिन्दासमेत परिचालन गरिएको छ ।

उनको खोजी अहिले गोसाइँकुण्ड गाउँपालिका वडा नं १ थुमन गाउँको उत्तर रसुवागढीबाट १० किमी दक्षिण पश्चिम रिछर जङ्गल इलाकामा भइरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । पर्यटकीय पदमार्गको वृद्धिम, टिमुरे तथा लाङ्टाङ समेतका क्षेत्रमा दर्जनौँ सुरक्षाकर्मी यही असोज ९ गतेदेखि परिचालन गरी पछिल्लो चरणमा भने थुमन इलाका क्षेत्रमा खोजीमा केन्द्रित गरिएको प्रहरीले बताएको छ । पर्यटक प्रहरीचौकी स्याफ्रुबेंसीको अभिलेखअनुसार उनी गत महीनाको भदौ २७ गते रसुवाको स्याफ्रुबेंसीमा बास बसी भदाै २८ गतेदेखि तामाङ सम्पदा पदमार्गको भ्रमणमा गएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार ०८:४०