१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

महाकाली अस्पतालमा चिकित्सक अभाव, २८ जनाको दरबन्दीमा २ जनामात्र कार्यरत


२० असोज, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदैँ आएको छ । चिकित्सककै अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ ।

अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी भएपनि प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भु जोशी गरी दुई चिकित्सक मात्रै कार्यरत छन । अस्पतालमा डेन्टल नवौँ तहका सात मेडिकल अधिकृत, १० औँ तहका १६ र ११ औँ तहका चार चिकित्सकको दरबन्दी भएपनि दुई बाहेक सबै दरबन्दी रिक्त अबस्थामा रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अबस्थीले बताउनुभयो ।

उहाँका अनुसार चिकित्सा परिचालन निर्देशनालयबाट चार मेडिकल, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एक चिकित्सक मात्रै कार्यरत रहेका छन । अस्पतालमा सामान्य रोगका बिरामी बाहेक गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि अन्यत्र सिफारिस गरिदै आएको छ । अस्पतालमा रहेका उपकरणहरु चलाउने जनशक्ति नहुँदा समेत समस्या भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार १८:२८