१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फौजदारी अपराधको ढाकछोप गर्न प्रतिरक्षा र पैरवी सभ्य मानिसहरूलाई सुहाउदैनः उपप्रमुख थापा


१८ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभागका उपप्रमुख सूर्य थापाले याैन दूर्व्यवहारको अभियोगमा सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महराको प्रतिरक्षा र पैरवी सभ्य मानिसहरूलाई नसुहाउने बताएका छन । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी प्रस्तुत गर्दै उपप्रमुख थापाले महराले गरेको अपराधमा राजनीतिक विषयमा जस्तो पिक्ष र विपक्षमा तर्क र बहस गर्नुपर्ने कुनै अवस्था नरहेको बताएका छन ।

थापाले भनेका छन ‘यो नियति कसैको कारणले होइन, उहाँकै आचरण र क्रियाकलापको परिणामले निम्त्याएको हो । अर्थात्, कसले हो मंगले आफ्नै ढंगले भनेजस्तो ! यो राजनीतिक मतान्तरको विषय भए पो पक्षविपक्ष र न्यायअन्याय भनिकन तर्कबहस गर्न सकिन्छ ! यो त फौजदारी अपराध हो । अपराधको प्रतिरक्षा, ढाकछोप र पैरवी सभ्य मानिसहरूलाई सुहाउदैन !’ थापाले महरा किन यस्तो भए भन्ने प्रश्न गर्दै भनेक छन ‘उहाँ किन यस्तो हुनुभयो ? केही दिनयता उहाँप्रति प्रकट तीब्र रोषको कारण केवल रोशनी मात्र अवश्य होइनन् । रोशनी बाह्य प्रमुख कारक त हुन् नै । उनले बोलेको कुरा बदलून वा नबदलून ? त्यसको कुनै अर्थ अब हुँदैन। यस प्रकरणमा ‘सम्माननीय’ महराको असामयिक पतन ठूलो क्षति र क्षोभको विषय हो । यो प्रकरणमा उहाँको नाम जोडिएको क्षणदेखि नै म स्तब्ध भएको छु ।’

थापाले सभामुख पदबाट राजिनामा दिँदा प्रयोग गरेको भाषा र सांसद पदबाट राजिनामा नदिएको विषमाय पनि असन्तुष्टि व्यक्त गरेका छन । उनले भनेका छन ‘उहाँले सभामुख पदबाट राजीनामा दिँदा प्रयोग गरेको भाषा र काइते शैली तथा सांसद पदबाट राजीनामा दिन पार्टी सचिवालयले निर्देशन दिइसकेको स्थितिमा पनि यतिका दिनसम्म गरिरहेको अवज्ञा, अटेरी र ढिट प्रदर्शन किमार्थ मान्य छैन । र, मान्य हुन पनि सक्दैन । सबभन्दा टिठलाग्दो कुरा त महराको यस पतनसॅगै सति जान तम्सिनेहरूको संविधान, कानुन र सामाजिक मर्यादाविपरितको क्रियाकलाप बनेको छ । महराले आफै यो खाडल खनेको तिनीहरूले किन बुझिरहेका छैनन ? जबकी तथ्य, प्रमाण र वारदातले महराको पक्षपोषण गर्ने कुनै ठाउँ बाँकी छैन । नेकपाको सचिवालयले त्यस्तो ठाउँ हुँदाहुँदै उहाँलाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन निर्देशन किन गर्नुपर्थ्यो र !’

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार १६:२२