१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गीतकार पनि बनेकी शान्ता चौधरीलाई प्रधानमन्त्री ओलीको शुभकामना पिएचडीसम्म गर्नु


१४ असोज, काठमाडाैाँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताउनुभएको छ । सत्तारूढ नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब कामका लागि खाडी वा विदेश जानु पर्दैन । त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रनुपर्छ । पहिले पहिले पनि सरकार थिए तर पाइपलाइनबाट अमलेखगञ्जमा किन तेल झरेन ? त्यसकाण अब गर्छु होइन गरेँ भन्दैछु ।”हाँले मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको जानकारी दिनुभयो ।

“किनारामा बसेर कुरा काट्ने प्रवृत्ति छ तर सरकारले गरेका एक वर्षपछिका कामहरु इतिहासमा मानिसहरुले नसुनेका कामहरु भएका छन्”, प्रधानमन्त्री ओलीको भनाइ थियो, “कमलरी उन्मूलनको प्रस्ताव हामीले दर्ता गरेका थियौँ । कमलरीको जीवन व्यतित गर्नेहरु अहिले संसद्मा पुगेका छन् । परिवर्तन यही हो । सयौँ वर्षदेखि जनतालाई लुटेर खाएर आफू जमीनदार भएर बसेको स्थितिमा गरिबी उन्मूलन हुनका लागि केही समय लाग्नु अन्यथा होइन ।” उहाँले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गर्नुभयो ।

हाल कक्षा ११ अध्ययनरत चौधरीलाई प्रधानमन्त्री ओलीले विद्यावारिधिसम्म हासिल गर्न शुभकामना दिनुभयो । नेकपा संसदीय दलका सचेतक चौधरीले आफूले गरिबीका कारण पढ्ने र खेल्ने उमेरमा बाबुआमाको साथ नपाई जमीनदारको घरमा श्रम गर्नु परेका सङ्घर्षका क्षणहरु समेटेर रचना गरिएको बताउनुभयो । चार गीतको एल्बममा बद्री पङ्गेनी, शिशिर योगी, अञ्जु पन्त लगायतको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत छ । चौधरीको ‘कमलरीदेखि सांसद्सम्म’ पुस्तक प्रकाशित छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार २३:२२