१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम


१२ असोज, चितवन । विद्यार्थी तथा अभिभावकले चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न २४ घन्टे अल्टिमेटम दिएका छन् । कलेजले यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।

रकम फिर्ताका लागि असोज १० गते सम्म रकम सम्बन्धि प्रतिवेदन तयार पार्ने र बढी लिएको रकमको भरपाई दिने सहमति भएपनि तोकिएको म्याद सकिदा समेत दुबै कुरा गर्न कलेज प्रशासन तयार नभएपछि विद्यार्थी र अभिभावक पुनः आन्दोलित भएका हुन् । प्रशासन कार्यालयमा भएको सहमति कार्यान्वयन गर्न तर्फ कलेजले कुनै प्रयास नगरी आलटाल गर्न थालेपछि आफूहरुले बाध्य भएर २४ घण्टे अल्टिमेटम दिएको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए ।

यसअघि चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहित बसेको सर्वपक्षीय बैठकले १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिने र रकम फिर्ता गर्न पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो । सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार १९:०५