७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाहुनको सन्तान बाहुन हुनेभए म विश्वकर्मा कसरी भएँ ? शूद्र कसरी भएँ ?


-प्रकाश तिवारी
मोहन र शारदा, रञ्जित र सुनैनाको विवाह पार्टीमा पुगे । प्रिय मित्र आएको देखेर रञ्जित धेरै खुसी भयो । रञ्जितले सुनैनासित मोहन र शारदाको परिचय गरायो साथै आफूहरू स्नातकोत्तर तह पढ्दाको संस्मरण सुनायो । पार्टीको तेस्रो दिन रञ्जितले मोहन र शारदालाई स्वयम्भूस्थित ‘होम स्टे–पेइङ गेस्ट हाउस’ देखाउन लग्यो । बाटोभरी ‘पेइङ गेस्ट’ बिजिनेसको चर्चा चल्यो । आजभोलि ‘पेइङ गेस्ट’ राम्रो बिजिनेसको रूपमा देखापरेको छ । थुप्रै विदेशीहरू नेपाली संस्कृति बुझ्न र रमाइलो गर्न महिना दुई महिनादेखि छ–आठ महिनासम्म बस्ने गरी आउँछन् ।’

उनीहरू होम स्टे पुगे । होमस्टे परम्परागत नेपाली घरहरूको डिजाइनमा बनाइएको थियो । रातो र कमेरो माटोले लिलिपिएको भित्ता, धान राख्ने चित्राको भकारी, छानामुनि मकैको झुत्तो, आँगनमा तुससीको मठ । समग्र सजावटले नेपाली ग्रामीण जनजीवनको झल्को दिन्थ्यो । रञ्जितले गेस्टहाउसका पाहुना लगायत कार्यरत कामदारहरूसँग मोहन र शारदाको परिचय गरायो । साथै उसले पेइङ गेस्ट बिजिनेसका बारेमा जानकारी दियो– गेस्ट बनेर आउनेहरू अधिकांश युरोपियन हुन्छन् । तिनीहरू दालभात, तरकारी, अचार, कोदाको ढिँडो र फापरको रोटी मिठो मानेर खान्छन् । केही ग्राहक साँझ झोला बोकेर हामीसँगै मार्केटिङ गर्न जान्छन् ।

गेस्टहाउसमा हरेक शुक्रबार फुली, बुलाँखी, गुन्यु–चोलो लगाएका युवती र घल्यौ, कछाड, दौरा सुरुवाल, इस्टकोट लगाएका युवाहरूको लोक नृत्य प्रस्तुत हुन्छ । विदेशीहरू जानीनजानी झ्याउरे गीतमा कम्मर मर्काउँछन् । एक शनिबार हामीले पाहुनाहरूलाई परम्परागत हिन्दु विवाह देखाउन रामकोट लग्यौँ । दौरा सुरुवाल, ढाका टोपी, कमरमा खुकुरी भिरेको दुलहाले रातो चोलो, रातै सारी पहिरिएकी दुलहीको घुम्टो उठाएर माहुर चटाएको र सिन्दुर हालेको देखेर युरोपियनहरू औधी खुसी भए । सबैले त्यस रोचक दृश्य क्यामराभित्र कैद गरे ।’

उपन्यासकार प्रकाश तिवारी ।

घर फर्किनु अघिल्लो रात मोहन र शारदा रञ्जितकोे होमस्टेमा बसे । त्यस रात चीरस्मरणीय घटना घट्यो । गेस्ट हाउसका अधिकांश ग्राहकहरू आँखामा हाले पनि नबिझाउँने खालका थिए भने केही युरोपियनहरूको चालचलन अस्वाभाविक ढङ्गको थियो । फिडेल र उसकी श्रीमती मोनिकाको कृयाकलाप अरू भन्दा भिन्न थियो । फिडेल र उसकी श्रीमती मोनिकालाई देखेर रञ्जित र सुनैना छक्क परे । रातको एघार बजे फिडेल नेपाली केटीलाई अँगालो हाल्दै आएको थियो भने उसकी श्रीमती मोनिका नेपाली केटोसँग किस गर्दै भित्र पसेकी थिई । तिनीहरूको मुखबाट रक्सीको नमिठो गन्ध आइरहेको थियो । चारै जना नसाले चुर थिए ।

‘हु आर दिज पिपुल ? यु ह्याभ भायोलेटेड गेस्टहाउस रुल्स एन्ड रेगुलेसन !’ (यिनीहरू को हुन् ? तपार्ईंंहरूको चालामाला गेस्टहाउसको नीति नियम विरुद्ध छ ।) मोनिका र फिडेललाई रञ्जितले भन्यो । ‘हि इज किरन एन्ड सि इज ललिता । दे आर हस्वेन्ड एन्ड वाइफ !’ आफ्नो लोग्ने र आफूसँग लठारिँदै आएका नेपाली केटाकेटीलाई देखाउँदै मोनिकाले भनी । ‘इट इज नट इन आवर कल्चर ! (हाम्रोमा सार्वजनिक रूपमा आफ्नी श्रीमती अर्काको लोग्नेको अँगालोमा बाँधिएर हिँडेको र किस गरेको लाई राम्रो मानिँदैन ।)’ सुनैनाले भनी ।

‘डु यु नो बार्टर सिस्टम ? ह्वाट यु ह्याभ गिभ अदर्स एण्ड टेक ह्वाट यु डन्ट ह्याभ ! यु नेपलिज नेभर नो हाउ टु लभ एन्ड इन्ज्वाए ! लाइफ फर रोमान्स ! ट्राई टु बि सिभिलाइज्ड !’ (तपाईंंलाई वस्तु विनिमय प्रथाका बारेमा थाहा छ ? आफूसँग भएको अरूलाई देऊ अनि जे तिम्रो साथमा छैन अरूबाट लेऊ । नेपालीलाई रमाइलो गर्न र आनन्द लिन आए पो !) लर्बराउँदै फिडेलले भन्यो । डन्ट टिच मी, ह्वाट सिभिलाइजेसन इज ! आई ह्याभ अ डबल मास्टर डिग्री । डु यु नो जर्मन स्कलर म्याक्स मुलर ?’ (मलाई सभ्यताको पाठ नपढाउ । तिमीले जर्मन विद्वान् म्याक्स मुलरको नाम सुनेका छौ ?) रञ्जितले रिसाउँदै सोध्यो । फिडेल र मोनिका चुप भए ।

रञ्जित बोल्दै गयो ‘रिग्वेदा इज द फस्ट बुक अफ दि इन्टाएर ओल्र्ड । आई आएम नट सेइङ द्याट । म्याक्समुलर रोट द्याट । यु पिपुल स्टोल आवर वेदा देन मेड एरोल्पेन एन्ड मेडिसिन्स । आवर फोरफादर फाउन्डेड योगा ! ह्विच रिचार्ज द ह्युमन माइन्ड एन्ड रिफ्रेसेज आवर ब्रेन । (हामी संसारको पहिलो पुस्तक लेख्ने पुर्खाका सन्तान हौँ । मानिसको मन–मष्तिष्कमा पुनर्ताजगी दिने ‘योगा’ हाम्रा पुर्खाको आविष्कार हो ।)
रञ्जितको रिस अझै मरिसकेको थिएन ।

‘मिस्टर वेस्ट ! डु नट टिच द इस्ट । यु पिपुल ह्याभ नो हार्ट, नो ह्युमानिटी । यु आर लाइक अ न्वाइजिङ क्लक, अ मेसिन ! (तिमीहरूमा मानवीय संवेदना हुँदैन । तिमीहरू समयको पछि निर्ममतासाथ कुँद्ने घडी हौ । पश्चिमले पूर्वलाई सिकाउने धृष्टता गर्नु बेकार छ ।)’ उसले थप्योे । डेल र मोनिका नाजवाफ हुँदै कोठाभित्र पसे । कोठामा गएपछि पनि गलत हर्कत रोकिएन । उनीहरू अनौठो आबाजमा कराइरहेका थिए । रञ्जित फिडेल र मोनिका बसेको कोठाभित्र पस्यो । उसले देख्यो एकातिर फिडेल र ललिता, अर्कोतिर मोनिका र किरण आपत्तिजनक कार्यमा……थिए । रञ्जितले तत्काल पुलिसलाई फोन ग¥यो । पुलिस आइपुग्यो । नाजायज कृयाकलापमा संलग्न दुबै जोडी पक्राउ परे ।

काठमाडौँ गएको चौथो दिन मोहन र शारदा घर फर्किए । छोरी आएको थाहा पाएर चन्द्रप्रसाद र रमाले घरभन्दा परको चौतारोमा शारदालाई बोलाए । शारदा रमाउँदै भेट्न गई । ऊ त्यस दिन दुलही पहिरनमा थिई । छोरीको सिउँदोको सिन्दुर देखेर चन्द्रप्रसादले मुख बिगा¥यो ।
‘तँ सिन्दुर लाएर हिँड्ने नगर् छोरी !’ भेट हुनेबित्तिकै चन्द्रप्रसादले भन्यो । ‘किन र बुबा ?’ ‘त्यो सिन्दुरका कारण तैले पाइलापाइलामा जवाफ दिनुपर्नेछ । मानिसहरू प्रश्न सोध्ने छन् ।’ ‘कस्तो प्रश्न ?’ ‘यही कि, त्यो सिन्दुर कस्को हातको हो ? तैले भन्नुपर्ने छ, विश्वकर्मा पुत्र मोहनको !’
‘मेरो सिउँदोमा सिन्दुर पर्नुअघि नै तपार्ईंंहरूले मलाई मोहनकी श्रीमती मानिसक्नुभएको थियो हैन र ? मैले तपार्ईंंहरूको विश्वासमा लालमोहर लगाएकी मात्र हुँ ।’

‘तैले ठीक गरिनस् शारदा ! बरू रमनसित बिहा गरेकी भए हुन्त्यो । कमसेकम ऊ बाहुनको छोरोे थियो ।’‘बाहुनको छोरो ! ऊ बाहुनको छोरो कसरी भयो ?’ उदास हाँसो हाँस्दै शारदाले सोधी । किनकि उसका बाबुआमा बाहुन हुन् ।’ ‘अनि मेरा बाबुआमा ? म कस्को कोखबाट जन्मिएँ ?’ ‘तँ पनि बाहुनकै सन्तान होस् ।’ ‘बाहुनको सन्तान बाहुन हुनेभए म विश्वकर्मा कसरी भएँ ? शूद्र कसरी भएँ ?’ ‘तेरो सिउँदोमा शूद्रको हातको सिन्दुर पर्यो त्यसैले ।’ ‘नगद र उधारोकोे अर्थ त बुझ्नुहुन्छ नि ?’ उसले फेरि सोधी । ‘के भन्न खोजेकी प्रस्ट भन् ।’

‘कुनै वस्तुलाई हाताहाती मूल्य तिरेर लिनु नगद हो अनि भोलिको भाका राखेर लिनु उधारो ।’ ‘सबालजवाफसँग तेरो प्रश्नकोे के साइनो छ ?’
‘साइनो छ आमा ! मेरो सिउँदोमा मोहनको नगद सिन्दुर छ । मोहन दृश्य हो । ऊ कसैसँग अदृश्य सम्बन्ध राख्दैन तर रमन अदृश्य हो । उसले पर्दापछाडि कैयौँ शूद्र महिलासँग अवैध सम्बन्ध राखेको छ । भोलिको प्रलोभन देखाउँदै सिधासाधा युवतीको सिउँदोमा अदृश्य सिन्दुर हालेको छ ।’ ‘बिना प्रमाणका कुरा नगर् छोरी !’ ‘मेरो र मोहनको सम्बन्ध पनि बिना प्रमाणकै थियो तर तपार्ईंंहरूले सत्य मान्नुभयो ! हामी दृश्यमा जे छौँ, त्यही छौँ तर रमन दृश्यमा जे दखिन्छ त्यो छैन ।’ ‘धेरै जान्ने भैचस्, तैले सदाको लागि आमाबाबुसँगकोे सम्बन्ध तोडिस्् । तेरो र हाम्रो यो भेट नै जीवनको अन्तिम भेट हुने छ ।’

‘ठीक छ बुबा ! मेरालागि घरको ढोकामा भाटेताल्चा त पहिले नै लगाइसक्नु भएको थियो । आज बाबु–छोरीको सम्बन्धको ढोका पनि बन्द गर्नुभो !’ ‘कुरा टुङ्गियो जाउँ अब ।’ राताराता आँखा बनाउँदै चन्द्रप्रसादले भन्यो । यति भन्दै चन्द्रप्रसाद र रमा त्यहाँबाट हिँड्नलागे । ‘मेरा जन्मदाता आमाबुवा ! अन्तिम भेटअघि छोरीसित गला मिलाउनु हुन्न त ? जिन्दगीको के भरोसा, फेरि यस्तै मौका जुर्ला नजुर्ला ?’ आँखाभरि आँसु टिल्पिलाउँदै शारदाले भनी । ‘तँ कुजातसँग गला मिलाउनु !’ रमाले भनी । ‘त्यसो हैन आमा ! हजुरहरू नमिलाउने भए म मिलाउँछु नानीसित गला ।’

बुहारी रञ्जना शारदासित गला मिलाउन अघि बढी । चन्द्रप्रसादको रिस थामिनसक्नु भयो । ऊ कुर्लियो–‘ए रञ्जने खबरदार ! एक पाइला अघि बढिस् भने ! त्यसलाई नछो, त्यो अछुत हो !’ रञ्जना रोकिइन । उसले गला मिलाउन दुई हात उठाई । शारदा पनि दुई हात उठाएर अघि बढी ।
चन्द्रप्रसाद बाघझैँ गर्जियोे । ‘मैले भनेको सुनिनस् ! त्यस अछुतसित गला मिलाइस् भने तँलाइ पनि घरबाट निकाल्दिन्छु !’ अब भने रञ्जना टक्क रोकिई । बाबुको मुखबाट निस्केको कठोर बचन सुनेर शारदाका आँखा साउने झरीझैँ बर्सिए । ‘हो म अछुत हुँ ! अछुत अर्थात् छोइछिटो बार्नुपर्ने जात !’ यति भन्दै शारदा आफ्नो बाटो लागी । (तिवारीको यसैसाता बजारमा अाएको निहारिका उपन्यासको अंश)

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार ११:४८