७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जाम खुलाउने विषयमा प्रहरी प्रमुख खनालले वेवास्ता गरेपछि गृहमन्त्री थापाले नै लिए अग्रसरता


१० असोज, काठमाडौँ । काठमाडौँ उपत्याकाको सवारी अस्तव्यस्तता, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको जाम खुलाउने विषयमा नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले खासै चासो नदिएपछि गृहमन्त्री रामबहादुर थापा आफैँले अग्रसरता लिएका छन । झण्डै एक सातादेखि राजधानी प्रवेशको मुख्य नाका नागढुंगादेखि धादिङको जोगिमारासम्म सवारी जामको लाम हुँदा पनि प्रहरी प्रमुखका हिसाबले प्रभावकारी र ठोस पहल गरेका छैनन् । उनी शुक्रबार भने सुरक्षा गोष्ठीमा भाग लिन काठमाडाैँ उपत्यका बाहिर रहेका थिए ।

यद्यपी जनगुनासो सम्बोधन गर्ने गरी शुक्रबार गृहमन्त्री थापाले काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहित महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेश थापा र महानरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाललाइ मन्त्रालयमै बोलाएर जाम खुलाउने विषयमा संवेदनशिल हुन अनुरो गरेका छन ।

दसैं मनाउन काठमाडौंबाट घर जाने यात्रु बोकेका सवारीसाधनको ४० किलोमिटरसम्म लामो जाम भएपछि गृहमन्त्री थापाले तत्काल जाम खुलाउन निर्देशन दिए । मन्त्रीले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन निर्देशन दिएका छन । त्यस्तै जाममा परेका बिमारीहरुको आवश्यकता अनुसार उद्धारका सबै उपाय अपनाउन समेत निर्देशन दिएका छन ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार २१:३७