१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रमुख सर्वेन्द्र खनालको अधिकारमा ‘कु’, बर्खास्त गर्ने तयारी


९ असोज, काठमाडौँ । भ्रष्टाचार मुद्दामा मुछिएपछि नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालको अधिकारमा सरकारी ‘कु’ भएको छ । पछिल्लो समय विवाद नै विवादको भूमरीमा परेका परेका खनालको अधिकारमाथि सरकारी ‘कु’ भएको हो । योसँगै सरकारले खनाललाई बर्खास्त गर्ने संकेत समेत दिएको छ । रमाइलो पक्ष त के छ भने उनी मातहतका प्रहरी अधिकृतको सरूवा भएको खबर समेत उनले समाचार पढेर थाहा पाउनुपर्यो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा गरेको छ । यस्तै प्रहरी प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यस अगाडी उक्त विभाग नेतृत्वबिहिन थियो । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा रहेका एआईजी धिरु बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा पठाइएको छ । बस्नेतमाथि पनि भ्रष्टाचारको अभियोगमा छानविन भैरहेकोछ ।

गृहमन्त्री रामबहादुर थापा बादल ।

खनालले गरेका गलत कामका बारेमा प्रहरी प्रधान कार्यालयबाटै गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटक पटक गुनासो पुगेपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकको जानकारीबिनै तीन जना अतिरिक्त प्रहरी महानिरीक्षकको सरूवा गरेको स्रोतले बतायो । गृहमन्त्रीको ठाडो प्रस्तावमा उक्त सरूवा भएपछि प्रहरी संगठनभित्र खनालको अधिकारमा ‘कु’ भएको खुलासा भएको हो । समान्यतया महानिरीक्षकको सिफारिस र सल्लाह बिना उनी मातहतका उच्च प्रहरी अधिकृतको यसरी सरूवाको काम हुँदैन ।

केही दिनयता प्रहरी मुख्यालयमा सर्वेन्द्र खनाल आफैँले प्रत्यक्ष हेरिरहेको विभागमा समेत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आशंका छापा हानेर महत्वपूर्ण कागजात जफत गरेर अनुसन्धान गरिरहेको छ । खनालले भीभीआइपीरभीआइपीका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद गर्दा स्पेसिफिकेसन परिवर्तन गरी अनियमितता गरेपछि त्यसम आयोगले सुक्ष्म अध्ययन गरिरहेको छ । बुट, सर्टरपाइन्ट, पिकअप भ्यान, मेसिनरी औजार खरिदमा समेत भ्रष्टाचार गरेको आशंका सक्कली बिल नियन्त्रणमा लिएर आयोगले छानविन गरिरहेको छ । खनालले गुणस्तर परीक्षण फेल भएर फिर्ता भइसकेका बुट कमिसनको चक्करमा स्वीकार गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, धिरू बस्न्यात र ठूले राइ ।

खनालको व्यवस्थापनका विषयमा यसअघिदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापाबीच छलफल हुँदै आएको छ । देशको हितविरूद्ध खनालले विमस्टेकको अन्तर्राष्ट्रिय मञ्चमा गरेको गल्तीको सर्वत्र आलोचना र निन्दा भैरहेको छ । यसअघि नेकपा अध्यक्ष प्रचण्ड र दक्षिणी शक्तिको बलमा पद जोगाएका खनालले यसपटक त्यसो गर्ने सम्भावना कम छ ।

गृहमन्त्रीले प्रधानमन्त्रीसँग सिधै खनाल बर्खास्त गर्ने प्रस्ताव लगेका थिए तर परिस्थिति हेरेर निर्णय लिनुपर्छ भन्ने प्रधानमन्त्रीको सुझावपछि उनले महानिरीक्षकको जानकारी विनानै अतिरिक्त महानिरीक्षकको जिम्मेवारी हेरफेर गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । सरकारको चेन अफ कमान्डमा नरहेका कारण यसअघि भारत भ्रमण अस्वीकृत भएका खनालको यसपटक अमेरिका भ्रमणसेमत अस्वीकृत गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार २३:२२