४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

धनगढीकी खगित्राले काठमाडौँ मेडिकल कलेजमा जन्माइन् ४ शिशु


८ असोज, काठमाडौँ । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा आज ३ छोरा र १ छोरीलाई जन्म दिएकी उहाँकी उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिइन् ।

फाइल फाेटाे

८ महिनाको गर्भलाई उहाँ लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमश: १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले जानकारी दिए ।

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा डा कार्कीले बताइन् । ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार २३:०५