७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकारले दार्चुलाको दुर्गम भेगबाट सुत्केरी र शिशुको हेलिकप्टरबाट उद्धार गरी ज्यान बचायो


-लोकेन्द्र जोशी 

८ असोज, दार्चुला । नौगाड गाउँपालिका – २ ककनाडी चौखुट्टेकी २५ वर्षीया मानमती धामीले सोमबार बिहान स्वास्थ्य चौकी खारमा तिम्ल्याहा छोरी जन्माउनुभयो । सुत्केरी हुने समय अगावै कम तौलका तीन बच्चा जन्माएपछि सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान स्वास्थ्यकर्मीले सिफारिस गरे पनि परिवारले आर्थिक अभाव देखाउँदै लैजान सकेनन् । दुर्गम क्षेत्रको विपन्न परिवारकी मानमतीको तल्लो पेट दुख्ने तथा रक्तस्राव भइरहेकाले ज्यान खतरामा थियो ।

जन्मिनेबेला शिशुको औषत तौल दुई किलोग्राम पाचँ सय ग्राम हुनुपर्नेमा सोमबार जन्मिएका तीनै छोरीको तौल औसतमा कमी छ । पहिलो पटक जन्मिएकी छोरीको दुई किलोग्राम र दुई छोरीको एक किलो दुइसय ग्राम मात्र तौल रहेको छ । दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्मर अर्थात न्यानो गराउने मेसिन, अक्सिजन मेसिन लगायतका थप उपकरण नहुँदा उपचारका लागि बाहिर पठाउनुपरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले भन्नुभयो, ‘सुत्केरी महिला र शिशुहरुको ज्यान खतरामा रहेको खबर पाउने वित्तिक्कै गाउँपालिकालाई सिफारीस पत्र पठाउन आग्रह गरे पनि इन्टरनेट समस्याको कारण सोमबार बेलुकीमात्रै पत्र प्राप्त भयो । गाउँपालिकाको पत्र पाएपछि महिला, बालवालिका तथा सामाज कल्याण मन्त्रालय र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा महिलाको हेलिकप्टरबाट उद्दारका लागि औपचारिक अनुरोध ग¥यौं ।

दार्चुलाबाट प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचित सासंदहरुले समेत आफ्नो क्षेत्रबाट पहल गरेपछि महिला बालवालिका तथा सामाज कल्याण मन्त्रालयले सुत्केरीको उद्दारका लागि मंगलबार नेपाली सेनाको हेलिकप्टर पठाएको हो । मंगलबार बिहान १० बजेर ५० मिनेट जाँदा हेलिकप्टरबाट सुत्केरी र नवजात शिशुहरुलाई उपचारकालागि भेरी अञ्चल अस्पताल, नेपालगञ्ज पठाएर उपचार भइरहेको छ । सरकारले हिमाली र विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुको जीवनरक्षाका लागि सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत धामीको हेलिकप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनुभयो ।

सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो नौगाडको पहिलो घटना हो । तेस्रो सन्तानको रूपमा गर्भवती बन्नुभएकी धामीले निर्धारित समयभन्दा एक महिना अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताउनुभयो । यसअघि धामीका एउटा छ र अर्को तीन वर्षकी छोरी छन् । यो समाचार सम्पादकको अुनमतिले गोरखापत्र दैनिकबाट साभार गरिएको हो । 

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार १०:२७