११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नुवाकोटको पञ्चकन्या माविको शैक्षिक सुधारका निम्ति भूतपूर्व विद्यार्थीले सहयोग गर्ने


५ असोज, काठमाडौँ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको पञ्चकन्या माविमा विद्यालयको शैक्षिक सुधारका निम्ति भूतपूर्व विद्यार्थीले सहयोग गर्ने भएका छन । शनिबार काठमाडौँमा भएको भूतपूर्व विद्यार्थीको भेलाले विद्यालयको शैक्षिक अवस्था सुधारका निम्ति मिलेर काम गर्ने निष्कर्ष निकालेका हुन ।

यसअघि २०६३ सालमा विद्यालयको हितमा काम गर्ने उद्देश्यले भुमराज तिवारीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च समेत स्थापना भएको थियो । स्थापनाकालमा मञ्च पूर्ण रूपमा चलाएमान भएपनि पछिल्लो नेतृत्वहरूले विभिन्न कारणले सोचेजस्तो काम गर्न नसकेको र आगामी दिनमा स्थापनाकालकै लयमा काम गर्ने उद्घोष पूर्व विद्यार्थीले गरेका छन ।

काठमाडौँको गोंगबुमा भेला भएका ३० भन्दा बढी पूर्व विद्यार्थीले मञ्चको गतिशिलतामा जोड दिए । मञ्चका संस्थापक उपाध्यक्ष प्रकाशजंग पाण्डेले विभिन्न कालखण्डमा विद्यालयका लागि पूर्व विद्यार्थीले महत्वपूर्ण योगदान दिएको बताए । उनले स्थापनाकालमा मञ्चले गरेको काम सम्झिदैँ गर्व पनि गरे । यद्यपी कतिपय अवस्थामा विद्यालयसँग मञ्चको सौहार्द सम्बन्ध हुन नसकेको बताए । उनले आगामी दिनमा मञ्चलाइ गतिशिल बनाउन आफूले पनि सहयोग गर्ने बताए ।

मञ्चका अध्यक्ष विष्णुहरि रेग्मीले विभिन्न कारणले गतिशिलतामा मसस्या भएको भए पनि आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै अब रचनात्मक रूपमा मञ्चलाइ अघि बढाउने बताए । उनले विद्यार्थीका लागि करियर काउन्सिलिङदेखि शैक्षिक वातावरण तयार पार्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । उनले विगतमा जेजस्ता तितामिठा भए पनि त्यसलाइ सिकाइको रूपमा लिएर अघि बढ्नुपर्ने र सबै पूर्व विद्यार्थीले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

मञ्चले आगमी दशैँलाइ लक्षित गर्दै असोज २० गते सोमबार महानवमीको दिन शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गर्ने सचिव ठाकुरजंग पाण्डेले दैनिकीलाइ जानकारी दिए । मञ्चले कार्यक्रम भव्य बनाउनका निम्ति विभिन्न उपसिमितको गठन समेत गरेको छ । व्यवस्थापन उपसमितिको संयोजकमा मञ्चका अध्यक्ष रेग्मी रहेका छन । त्यस्तै आर्थिक उपसमितिको संयोजकमा सचिव पाण्डे संयोजक रहेका छन । प्रचारप्रसार उपसमितिको संयोजक सञ्जय मुडभरी, सांस्कृतिक उपसमितिको संयोजकमा प्रशान्तजंग पाण्डे र स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा गणेश पाण्डे तोकिएका छन ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आईतवार १०:५४