६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

१० वर्षकी बालिकामाथि सामूहिक बलात्कारपछि हत्या गर्ने २ जनालाई आजीवन कारावासकाे सजाय


२ असोज, धनुषा । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ ।

सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो ।

फाइल फाेटाे

बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावाससहितको सजाय सुनाएको हो ।

झण्डै एक वर्षअघि विसं २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले रु १० को प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए । बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेलगत्तै प्रहरीले दुवैलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार ११:१७