१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेजको यो वर्षको भर्ना खारेज गर्न अनेरास्ववियूको माग


१ असोज, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै अतिरिक्त शुल्क फिर्ता नगरे भर्ना खारेज गर्न माग गरेको छ । बुधबार अनेरास्ववियूका संयोजक ऐन महरलेले विज्ञप्ति नै जारी गरेर अतिरिक्त शुल्क फिर्ता नगरेमा चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजलगायत सम्बन्धनप्राप्त कलेजमा यो वर्षका लागि लिइने भर्ना खारेज गर्न सरकार र चिकित्सा शिक्षा आयोगसँग माग गरेका छन ।

अध्यक्ष महरले चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेज पोखरामा भइरहेको आन्दोलनप्रति अनेरास्ववियूको ऐक्यवद्धता रहेको पनि प्रष्ट पारेका छन । उनले अनेरास्ववियूका तर्फबाट विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनमा कुनै दमन धरपकड नगर्नसमेत आग्रह गरेके छन । विज्ञप्तिमा मेडिकल कलेजमा शुल्कको कडाइका साथ कार्यान्वयन, सिट संख्याको वैज्ञानिक एवं व्यवस्थित ढंगले निर्धारण चिकित्सा शिक्षा ऐनमा भएको ७५ प्रतिशत छात्रावृत्तिको कार्यान्वयन गर्न माग गरिएको छ ।

सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र काठमाडौं उपत्यका बाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर चितवनको चितवन मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएका छन । जसको कारण विद्यार्थीहरू अान्दोलित बनेकाछन । 

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार ००:०६