६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सिंहदरबारको पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवनको प्रधानमन्त्री ओलीले गरे शिलान्यास


१ असोज, काठमाडाैँ । संघीय संसद भवनको प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका छन । बुधबार बिहान ११ः४० बजे प्रधानमन्त्रीले सिंहदबारको पुतली बैगैचामा भवनको शिलान्यास गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । सरकारले सिंहरदबारभित्र तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रतिनिधिसभामा ९ सय र राष्ट्रिय सभामा ६ सय जना अट्ने भवन निर्माण गर्न लागेको हो ।

नयाँ भवन निर्माण भएपछि सांसदहरूले भाडाको भवनमा बैठक बस्नुपर्ने बाध्यता हट्ने छ । पहिलो संविधानसभाको निर्वाचनपछि हालसम्म सांसदहरू नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको भवनमा बैठक बस्दै आएका छन् । सिंहदरबारभित्र बन्ने नयाँ संसद् भवनको निर्माण सम्पन्न भएसँगै भाडाको भवन प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । सिंहदरबारको उत्तर पूर्वी भागमा रहेको पुतली बगैंचाको १७३ रोपनी क्षेत्रफलमा भवन बनाउन लागिएको हो ।

अब बन्ने भवन परम्परागत शैलीमा आधुनिक प्रविधिबाट निर्माण हुने भएको छ । त्यसमा नेपालको आफ्नो मौलिकता झल्कने गरी बनाइने छ । सबै भवन वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी आफ्नै मौलिकता झल्कने गरी बन्नेछ । भवनको कुल लागत ७ अर्ब लाग्ने अनुमान गरिएको छ । भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको छ ।

भवनमा ४५ प्रतिशत क्षेत्रफलमा खुला हरियाली चौर र २८ प्रतिशत क्षेत्रफलमा सडक पूर्वाधार र पानीका संरचना रहने बताइएको छ ।परिसरको मूल ढोका दक्षिणतर्फ रहनेछ भने सांसदको प्रवेशका लागि उत्तरतर्फ नयाँ द्वार निर्माण हुनेछ । दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि ढोका रहने गरी ‘डिजाइन’ तयार भएको छ । संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुने छ । मुख्य प्रवेशद्वारको बायाँतर्फ प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल र दायाँतर्फ राष्ट्रिय सभाको बैठक बस्ने हल बन्नेछ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ११:५८