१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अन्नपूर्ण गाउँपालिकाले पर्यटन पदमार्गलाई प्राथमिकता दियो, पूर्वाधार विकासमा विशेष जोड


–जमुनावर्षा शर्मा

३१ भाद्र कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन पदमार्गलाई प्राथमिकता दिएर पूर्वाधार विकासमा जोड दिएको छ । विश्वको उत्कृष्ट १० पदमार्गमध्ये पाँचौँमा पर्ने अन्नपूर्ण सर्किटका पदमार्गहरु मोटरेबल बाटोले विस्थापित भइरहेको अवस्थामा त्यसको संरक्षण र विकासका लागि गाउँपालिकाले विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पोखरा पर्यटनको राजधानी हो र पोखराको पनि पर्यटनको राजधानी अन्नपूर्ण गाउँपालिका हो, पोखरा आउने पर्यटकको रोजाइ अन्नपूर्ण आधार शिविर हो ।” “नेपाल आउने अधिकांश पर्यटक पदयात्रा गर्नकै लागि आउँछन् । अहिले पदमार्गहरु लोप भइरहेका छन्, यसको संरक्षण र स्तरोन्नतिका लागि गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ, उहाँले भन्नुभयो ।”

घान्द्रुक, टाढापानी, मुलडे, दोबाटो हुँदै हिडनलेक, विरेठाँटी ठामाको डाँडा उल्लेरी बराहाताल हुँदै मरेलेक, तालचियाउनी गह्रा हँुदै मर्दीको डाँडा, काँडे अष्ट्रेलियन क्याम्प हुँदै प्रितम देउराली, नाउँडाँडा भ्यू टावर हुँदै भूमे डाँडा र लान्द्रुक हुँदै मर्दी हिमालमा पदमार्ग शुरु भएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । उहाँले रु ३० करोड बराबरको पर्यटन पदमार्ग निर्माण कार्य भइरहेको बताउनुभयो । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पर्यावरणीय वातावरणलाई समेत जोड दिएर प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै भाबी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने नीतिलाई समेत अवलम्बन गरेको छ । अन्नपूर्ण क्षेत्रमा विशेष राहत, उद्धार एवं विपद्को अवस्थामा बाहेक हवाई हेली उडान बन्द गरी ध्वनी प्रदूषण रोक्ने नीति पनि गाउँपालिकाले लिएको छ ।

ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले पदमार्गबाट यात्रा गर्ने पर्यटकले नेपालको रहनसहन, वेषभूषा र संस्कृतिको चिनारी बोकेर लाने भएकाले पदमार्ग पर्यटनको महत्व निकै रहेको बताउनुभयो । गाउँपालिकाले पर्यटन पदमार्गको विकास र संरक्षणमा देखाएको चासो निकै सकारात्मक भएको उहाँको भनाइ छ । उहाँले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलगायतका पदमार्गहरु छोटिँदै मोटरेबल बाटोमा परिणत भएको भन्दै यसको संरक्षण आवश्यक भएको बताउनुभयो ।

सो गाउँपालिकाको रु ५८ करोड ४५ लाख बजेटमध्ये वार्षिक रु २० करोड त तलबमा मात्रै खर्च हुने जनाइएको छ । बाँकी रकम मानव विकास र भौतिक पूर्वाधारका लागि छुट््टाइएको छ । चार सय २३ वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण गाउँपालिकामा ६ हजार २९ घरधुरी रहेका छन् । विसं २०६८ को जनगणनाअनुसार सो गाउँपालिकाको २३ हजार ४०० जनसङ्ख्या रहेको छ ।

स्थानीयवासीको जीवनस्तर उकास्न तत्काल पर्यटन विकासमा जोड दिएर आर्थिक चलायमान गराउने योजनाअनुरुप गाउँपालिकाले अन्नपूर्ण पदमार्ग, घान्द्रुक, लान्द्रुक, उल्लेरी, ठामको डाँडा, नाउँडाँडा भ्यूटावर, ताल चियाउनी गह्रो, विरेठाँटी छहराजस्ता पर्यटकीय स्थलहरुको विकासमा जोड दिएको गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले बताउनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि चार हजार दुई सय मिटर अग्लो अन्नपूर्ण आधारशिविरमा पर्यटन महोत्सव गर्नुका साथै अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो व्यक्ति मौरिस हर्जोकको शालिकलाई अन्नपूर्ण आधार शिविरमा राखेर पर्यटन प्रवद्र्धनका लागि पहल गरेको उपाध्यक्ष गुरुङले जानाकारी दिनुभयो ।

कृषिमा पनि जोड

पर्यटन विकाससँगै कृषि क्षेत्रको दिगो विकासमा पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि रु एक करोड १५ लाख बजेट छुट्टाइएको छ । कृषि क्षेत्रलाई आधुनिक स्रोत संरक्षण प्रविधिमा जोड्नका लागि गाउँपालिकाले एक सयभन्दा बढी हाते ट्याक्टर वितरण गरिएको जनाएको छ । त्यस्तै एक लाख ६५ हजारभन्दा बढी विभिन्न फलफूलका बिरुवा (एभोगाडो, सुन्तला, अम्बा, कागती, अलैँची) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

“यो वर्ष हामीले करीब ३० हजार कागतीको बेर्ना उत्पादन गरेका छौँ, एउटा कागतीको बेर्ना हुर्काउन सके लैनो भैँसी बराबरको फाइदा हुँदो रहेछ”, उहाँले भन्नुभयो, “कोदो महोत्सव गरेर कोदोको परिकारको महत्व र फाइदाका बारेमा समेत जोड दिएका छौँ । अब गाउँपालिका कोदोमा पनि आत्मनिर्भर बन्दैछ । ” अध्यक्ष कुँवरले भन्नुभयो “अब हाइवेमा नै कृषिको विक्री केन्द्र राखेर कृषि उत्पादनको बजारीकरणको पहल गर्दैछौँ ।”

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार ०६:३०