१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

असोज २ गतेदेखि चितवनमा भेटेरान कप


३१ भदाै, चितवन । आगामी असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल प्रतियोगिता हुनेभएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् । आयोजकले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा पहिलो हुनेले कपसहित रु एक लाख एक हजार १११ र दोस्रो हुनेले कपसहित रु ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र ट्रफी दिइने छ । अन्त्यमा म्यान अफ दी सिरिजलाई रु १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र हाइ स्कोररलाई जनही रु ५÷५ हजार पुरस्कार प्रदान गर्नेछन् । प्रतियोगितामा चितवन रातो र चितवन नीलो गरी जिल्लाका दुई टिम सहभागी हुँदै छन् । भारतबाट दुईवटा टिम आउँदै छन् । अरू सबै नेपालमा नाम चलेका टिमहरु सहभागी हुनेछन् ।

प्रतियोगिता स्तरीय बनाउन त्यहीअनुसार तयारी गरिरहेको संयोजक वरुण बस्नेतले बताउनुभयो । सहभागी क्लबहरुलाई दुई समूहमा विभाजन गरिएका छन् । दुवै समूहमा ८–८ टोली छन् । समूह ‘ए’ मा आयोजक चितवन भेटेरान (नीलो) सहित मकवानपुर भेटेरान हेटौँडा, अभिषेक चर्च नवलपुर, रोयल भेटेरान दार्जिलिङ (भारत), बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाइट किङ काठमाडौँ र धरान भेटेरान क्लब छन् ।

यस्तै समूह ‘बी’ मा चितवन भेटेरान (रातो)सहित सानो गौचरन काठमाडौँ, रुपन्देही भेटेरान ११ बुटवल, बीबीसी भेटेरान बनेपा, झापा भेटेरान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफ.सी. भारत र कैलाली भेटेरान रहेको आयोजक चितवन भेटेरान फूटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको पहिलो चरणको खेलहरु दुई दिन हुनेछन् । दुवै दिन ४÷४ वटा खेल हुने तालिका छ । सहभागी १६ मध्ये ८ टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । क्वाटरफाइनलका खेलहरु ४ गते हुनेछन् भने सेमीफाइनलका खेलहरु ५ गते र फाइनल खेल ६ गते हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार ०६:२६