७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुदूरपश्चिममा पनि ४५ जनामा डेंगुको सङ्क्रमण 


भदौ ३०, काठमाडौँ । मुलुकभर डेङ्गु सङ्क्रमण बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेङ्गुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण निरीक्षक हेमराज जोशीले बाजुराबाहेक अन्य जिल्लामा गरी ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी कैलालीमा २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

उनका अनुसार डेङ्गु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न यहाँका १५ वटा स्थानीयतहलाई चालू आर्थिक वर्षमा सङ्घीय सरकारले बजेट उपलब्ध गराएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको ८८ वटा स्थानीय तहमध्ये पहाडी जिल्लामा समेत डेङ्गुको सङ्क्रमण देखिएपछि सर्तकता अपनाउनका लागि स्थानीय तह अग्रसर भएका छन् ।

‘लार्भा नष्ट अभियानका लागि स्थानीय तहलाई रु एक लाखदेखि रु दुई लाखसम्म रकम दिएको छ,’ किट नियन्त्रण निरीक्षक जोशीले भने, ‘धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकालाई रु दुई/दुई लाख दिइएको छ ।’

लार्भा नष्ट गर्न शनिबारदेखि कञ्चनपुरको वेदकोट र कैलालीको टीकापुर नगरपालिकाले अभियान नै शुरु गरेका छन् । यसअघि कैलालीको लम्कीचुहा नगरपालिका, गौरीगङ्गा नगरपालिका, जानकी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रभावित क्षेत्रको पहिचान गरी लार्भा नष्ट गरिसकेको पनि उनले जानकारी दिए ।

किट नियन्त्रण निरीक्षक जोशीले निर्देशनालयले प्रदेश सामाजिक विकास मन्त्रालयमा डेङ्गु नियन्त्रण अभियान सञ्चालनका लागि योजना पेश गरेको जानकारी दिए ।

‘धनगढी र भीमदत्तनगरमा रहेका स्वास्थ्य कार्यालयले पनि प्रभावित क्षेत्रमा लार्भा नष्ट अभियान सञ्चालनको तयारी गरेका छन्,’ जोशीले भने, ‘अहिले यहाँका स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको चाप पनि बढेको छ ।’

एडिज नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको चिकित्सकको सल्लाहअनुसार समयमै उपचार गरिएमा निको हुने जोशीको भनाइ छ । नियन्त्रण र उपचारका लागि कहीँ पनि औषधि र किटको अभाव छैन,’ उनले भने, ‘प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सबैतिर अख्तियारी दिइएको छ ।’

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक गजेन्द्र विष्टले नगरपालिकाले आन्तरिक स्रोतबाटै लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए । ‘प्रभावित क्षेत्रको पहिचान गरी केही वडामा लार्भा नष्ट अभियान चलाइसकेका छौँ,’ उनले भने, ‘त्यसका लागि नगरपालिकाले बजेट व्यवस्थापन गरेको छ ।’

त्यसैगरी यहाँको महाकाली अञ्चल अस्पतालले पनि आइतबार डेङ्गु परीक्षणका लागि आवश्यक ‘किट’ खरिद गरेको छ । लामो समयदेखि किट नहुँदा अस्पतालमा डेङ्गु परीक्षण गर्न सकिएको थिएन ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार १८:५५