७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कम्युनिष्ट पार्टीहरूको एकीकरण पोष्टबहादुर बोगटीको पनि सपनाः वरिष्ठ नेता खनाल


३० भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालका कम्युनिष्ट पार्टीहरूको एकीकरण स्वर्गीय पोष्टबहादुर बोगटीको पनि सपना रहेको बताएका छन । दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले अाफूसँगको भेटमा नेता बोगटीले कम्युनिष्टहरू मिल्ने वातावरण सिर्जना गर्नेबारेमा धेरै कुरा गरेको बताए ।

खनालले सबै पार्टीका नेतासँग सुमधुर सम्बन्ध बनाउन सक्ने नेताको रूपमा स्वर्गीय पोष्टबहादुर बोगटीलाइ सम्झिएका छन । नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता हुनुभएको र वोगटीको त्यो व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको बताए ।

शान्ति सम्झाैतापछिका दिनमा पोष्टबहादुर बोगटीसँगको सम्बन्ध बाक्लिएको उल्लेख गर्दै वरिष्ठ नेता खनालले घरमै समेत भेटघाट गरेर अन्तरंग कुरा गरेको स्मरण गरे । बोगटी तत्कालीन नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री रहेका थिए । उनको  २०७१ साल भदौ ३० गते निधन भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार १२:१७