१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अब घरबेटीहरुले भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारवाही हुने


भदौ २९, काठमाडौँ । अब घरबेटीहरुले भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारवाही हुने भएकाे छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका छन् ।


आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी घिसिङले मिटर बिलमा उठेभन्दा बढी महशुल घरबेटीलाई नबुझाउन भाडावालहरुलाई पनि आग्रह गरे । नेपाल विद्युत प्राधिकरणको मिटर बिलमा उल्लेख गरिए भन्दा बढि भाडा लिन नपाउने कानुनी व्यवस्था रहेको पनि कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे । प्राधिकरणले विद्युत महशुल आफ्नो वेबसाईटमा उल्लेख गरिएकाले त्यसमा हेरेर त्यसको महशुल थाहा पाउन पनि उपभोक्ताहरुलाई आह्वान गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले आगामी चैत्र महिना भित्र ४५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य बनाएको छ । त्यसैगरी १११ मेघावाटको रसुवागढी जलविद्युत आयोजना, १४ दशमलव ८ मेघावाटको माथिल्लो सान्जेन विद्युत आयोजना र निजी क्षेत्रका आयोजनाहरु समेत गरेर चालू आर्थिक वर्ष भित्र १ हजार मेघावाट विद्युत थप गर्ने योजना पनि तय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

चालू आर्थिक वर्षभित्रै प्राधिकरणले कालिकोट, रुकुम पूर्व, जुम्ला र बाजुरा गरी ४ जिल्लामा पनि राष्ट्रिय ग्रिड पुर्याउने योजना तय गरेको छ । कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षभित्र देशभर स्मार्ट मिटर जडान कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार १७:५५