१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनए आइसीसी युवा संयोजकमा घर्तीले उम्मेदवारी दिने !


-भगवान गिरी
२९ भदाै, लिस्बन । गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युवा संयोजक पदका लागि पोर्चुगलबाट बागलुङका येमेन्द्र कुमार घर्तीले उम्मेद्वारी घोषणा गरेका छन् । हाल गैर आबासीय नेपाली संघ पोर्चुगल शाखाका सचिव रहेका घर्तीले शनिबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन ।

हक्की स्वभावका घर्तीले आफू विजयी भएपछि संस्थागत गतिविधिलाई पारदर्शी बनाउने, युवा र श्रमिक वर्गलाई संस्थाप्रति आकर्षितगर्ने, दोश्रो पुस्ताका नेपालीहरुलाई पनि संस्थाको महत्वबारे सचेतना फैलाउने र गैह्र आवासीय नेपाली नागरिकताबारे संविधानमा उल्लेख भए बमोजिमको ऐन बनाउन दवाव दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

२० वर्षदेखि वैदेशिक रोजगारमा रहेका उनी ६ वर्ष जापान बसेका थिए । तेह्र महिना अगाडि पोर्तुगल आएका उनले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै साथीहरुको सल्लाह र परामर्शमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए । जापानमा उनले एनआरएनएबाहेक नेपाली जनसम्पर्क समिति र नेपाली सेवा समाज जापानको महासचिव पदमा रहेर काम गरेका थिए ।

जापानमा रहेका उनका समर्थक रेशम पुनका अनुसार एशिया पशिफिक, युरोप र अमेरिकाका एनआरएनए अभियन्ताहरुबाट घर्तीलाई सहयोग हुने आश्वासन प्राप्त भएको बताए । घर्तीले सबैतिर घनिभूत छलफल र समन्वयका लागि उच्चतम प्रयास गरिएकोले विजय सुनिश्चित रहेको दावी गरेका छन् । उनले मध्य पूर्व र ओसेनिया क्षेत्रमा पनि समर्थन जुटाउन प्रयास भाइरहेको बताएका छन् ।

नेपाली काँग्रेसको एघारौ महाधिवेशनमा बागलुङ जिल्ला क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएका थिए । विसं. २०५४ मा नेवि संघ जिल्ला समिति बागलुङको उपाध्यक्ष रहेका घर्तीले बागलुङ काँग्रेसको जिल्ला समितिको सदस्यको राजनीतिक अनुभव पनि सङ्गालेका छन् । सीसाखानी बागलुङका घर्ती नेपाल छँदा युवा अनुसन्धान केन्द्र नामक गैह्र सरकारी संस्थाको अध्यक्ष भएर काम गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार ११:१८