८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सहकारीकर्मीलाई मन्त्री अर्यालको निर्देशन, ‘माटोले जे खोज्छ बजारले के खोज्छ त्यै गर्नुस्’


२८ भदाै, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडी बढ्न निर्देशन दिनुभएको छ । काठमाडौंमा आयोजीत सहकारी संस्थाहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभयो ।

शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताउनुभयो । संस्थाको सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले काम गर्नुपर्ने भन्दै उहाँले त्यसपछि संस्थाको सन्देश प्रवाह गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

सहकारी अभियान कौशीमा भएकालाई पिंढिमा झार्ने नभएर पिंढिमा भएकालाई कौशिमा उकाल्ने अभियान भएको भन्दै मन्त्री अर्यालले ३४५१२ सहकारीमध्ये करिब आधा जति बचत तथा ऋण सहकारी संस्थाहरु रहेको बताउनुभयो । त्यसकारण अब मन्त्रालयले मर्जरको अभियान सञ्चालन गरेको भन्दै बचत तथा ऋण सम्बन्धी काम गर्ने संस्थाहरूले पनि अब काम गर्ने तरिका बदल्ने अवस्था आएको उहाँको भनाइ थियो ।

 

पूँजि जति परिचालन भयो त्यति फाइदा हुने भन्दै मन्त्री अर्यालले संकलन भएको रकम थुपारेर राख्‍ने मात्र नभएर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन दिनुभयो । ‘अब सबै सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कानुन बनाउदैछौ । अबको कानुन आजको आवश्यकता पूरा गर्ने हो । सहकारीको हातखुट्टा बाँधेर प्रगति हुदैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘माटोले जे खोज्छ बजारले के खोज्छ त्यै गर्नुस् । भएको पैसा उत्पादनमूलक कार्यमा लगाउनुस र बढी भन्दा बढी युवालाई रोजगारी दिनुस ।’

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार ११:५९