७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल र मलेसियाकाे श्रम सम्झाैता नोभेम्बर पहिलो सातादेखि पूर्ण कार्यान्वयनमा आउने, जुट्यो सहमति


-पवित्रा मुडभरी

२६ भदौ, काठमाडौँ । नेपाल र मलेसियाको श्रम सम्झौता नोभेम्बर पहिलो सातादेखि कार्यान्वयनमा आउनेनेपाल र मलेसियाको श्रम सम्झौता नोभेम्बर पहिलो सातादेखि कार्यान्वयनमा आउने भएको छ । नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकार र मलेसिया सरकारबीच यसअघि भएको सम्झौता कार्यान्वयन गराउने उद्देश्यका साथ मलेसिया पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टोली र मलेसियाको टोलीबीच बिहीबार भएको वार्तामा नोभेम्बर पहिलो सातादेखि सम्झौता कार्यान्वयन गर्ने गरी सहमति जुटेको हो । यसअघि गत कात्तिक १२ गते श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अडान अनुसार नै नेपाली श्रमिकको हित हुनेगरी श्रम सम्झाैता भएको थियो ।

गत कार्तिक १२ गते काठमाडाैँको होटल हायातमा अायोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन श्रम सम्झाैतामा हस्ताक्षरपछि ।

सहमतिसँगै मलेसिया सरकारका प्रतिनिधि नोभेम्बर पहिलो साता स्वास्थ्य संस्थाहरूको अडिट गर्न नेपाल आउने नश्चित भएको छ । यसअघि गरिब नेपाली युवाहरूको पसिना चुस्दै आएका केही दलालहरूको प्रभावमा परेर मलेसिया सरकारका कर्मचारीले रोजागरी खुलाउने विषय विभिन्न बहाना सिर्जना गरेर अड्काउँदै आएका थिए । बिहीबारको वार्तामा नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो ।

श्रम सम्झाैता कार्यान्वयनको सहमतिमा हस्ताक्षर पछि दुबै देशका प्रतिनिधि ।

योसँगै नेपालबाट नयाँ कामदार मलेसिया जाने बाटो पनि खुलेको छ । विगतमा मन्त्रीस्तरमा भएको सहमति अनुसारनै कामदारहरु अब ‘शून्य लागतमा मलेसिया जानेछन ।  कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको थियो ।

नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । विगतमा ३६ वटा मात्रै मेडिकललाई दिइएको अधिकार तोड्ने गरी नयाँ सूचीकरण भएको हो । बिहीबार भएको सहमति अनुसार अब यी सबै संस्थाहरुमा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरसम्म नयाँ संस्थालाई स्वीकृति प्रदान गर्नेछ ।

नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी अब रोजगारीका लागि मलेसिया जान पाउनेछन् । कामदारकाे हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछन् । अब नेपाली कामदारे कुनै लेभी पनि तिर्नु नपर्ने बताए । मलेसिया सरकारले नेपाली कामदारको तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा दिनुपर्नेछ ।

दुइ देशको मन्त्रीस्तरीय समझदारी अनुसार रोजगारदाताले कामदारका लागि वासथानका साथै व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवन्ध समेत गर्नुपर्नेछ ।  सम्झाैता कार्यान्वयनमा अाउँदा कामदारका परिवारका निकटतम समस्य (बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा १५ दिनका लागि नेपाल आउन पाउनेछन । रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूताबासलाई जानकारी गराउनुपर्नेछ भने मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने गरी व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १४:५७