१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल भ्रमण वर्ष सफल बनाउन देशभरका धामी झाँक्रीलाई काठमाडौँमा जम्मा गरिने


२४ भदाै, काठमाडाैँ । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ का लागि रु एक अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्राथमिकतामा राखेर बोर्डले बजेट ल्याएको छ । बोर्ड सञ्चालक समितिको सोमबारको बैठकले यस वर्षका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो । अघिल्लो वर्षको भन्दा १२ करोड कम बजेट आएको छ । बोर्डले आर्थिक वर्ष २०७५/०७६ मा रु एक अर्ब ७५ करोड बजेट छुट्याएको थियो ।

भ्रमण वर्षसँगै तालीम, ‘डिजिटल मार्केटिङ’ तथा नयाँ गन्तव्यको प्रभावकारी प्रवद्र्धन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले राससलाई जानकारी दिनुभयो । बोर्डले प्रदेश सरकारसँगको साझेदारीलाई ध्यान दिएर बजेट निर्धारण गरेको छ । एक प्रदेशमा रु एक करोडका दरले सातै प्रदेशमा बजेट विनियोजन गरिएको सिइओ जोशीको भनाइ छ । उहाँका अनुसार बजेटमा पर्यटनको बजारीकरण, नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको विस्तारमा मध्यपूर्वी मुलुकमा विगतको एक कार्यक्रमलाई बढाएर चार वटा पु¥याइएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुक म्यान्मा, भियतनाम, कम्बोडियालगायत गन्तव्यमा बजारीकरण गर्ने लक्षका साथ बजेट विनियोजन गरिएको छ । बोर्डका जति पनि प्रवद्र्धनका कार्यक्रम रहेका छन् तिनलाई भ्रमण वर्षसँग जोडेर कार्यक्रम गरिनेछ । भ्रमण वर्षका लागि छुट्टै रु १० करोड विनियोजन गरिएको छ । यो भ्रमण वर्ष सचिवालयले खर्च गर्नेछ । बोर्डकै तर्फबाट भ्रमण वर्ष प्रवद्र्धनका लागि रु २५ करोड विनियोजन गरिएको छ ।

भैरहवा विमानस्थल लक्षित प्रवद्र्धन

बोर्डले बुद्ध धर्मावालम्बी पर्यटकलाई नेपाल आकर्षण गर्ने उद्देश्यका साथ म्यान्मा, भियतनाम, कम्बोडियालगायत गन्तव्यमा प्रभावकारी बाजरीकरण गर्ने भएको छ । छिट्टै सञ्चालनमा आउने निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर बोर्डले बुद्ध धर्मावलम्बीहरूको मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्नेगरी बजेट विनियोजन गरेको हो । ती मुलुकसँग भैरहवा विमानस्थल सञ्चालनसँगै सम्पर्क सञ्जाल विस्तार हुने अपेक्षाका साथ बोर्डले बजेट केन्द्रित गरेको उल्लेख गरेको छ । गौतमबुद्ध विमानस्थल सन् २०२० को शुरुआतमै सञ्चालनमा आउने बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक वर्षे कार्ययोजनामा समेटेका भ्रमण वर्षलगायत कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपाल प्रवद्र्धन

बोर्डले नेपाल गन्तव्य प्रवद्र्धनको कामलाई सशक्त र प्रभावकारी तुल्याउन अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसी, सीएनएनलगायत ठूला मिडियामा नेपालको गन्तव्य प्रवद्र्धन गर्ने विज्ञापन बजाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । विश्व चर्चित लोन्ली प्लानेट र ट्रीप एडभाइजरसँगको सहमतिलाई पनि निरन्तरता दिइने बोर्डले जनाएको छ । छिमेकी मुलुक भारत र चीनका विभिन्न सञ्चारमाध्यममा पनि नेपालको विज्ञापन गरिनेछ ।

विभिन्न शहरमा चल्ने बसहरुमा नेपालको पोस्टर टाँसी प्रवद्र्धन गर्ने कार्यक्रमलाई समेत बजेटले निरन्तरता दिएको छ । विदेशस्थित दूतावासहरुसँगको सहकार्यलाई समेत जारी राख्ने उल्लेख गरिएको छ ।

काठमाडौँ बाहिर मिनी मार्ट

पर्यटन बोर्डले काठमाडौँ बाहिरका विभिन्न गन्तव्यमा मिनी मार्ट आयोजना गर्ने भएको छ । काठमाडौँमा हिमालयन ट्राभल मार्ट र लुम्बिनी ट्राभल मार्ट जारी राख्दै मोफसलका पर्यटकीय गन्तव्यसम्म मार्ट विस्तार गर्नेगरी बजेट बनाइएको छ ।

बोर्डका सिइओ जोशीले पोखरा एडभेन्चर टुरिजम मार्ट, पूर्वमा इस्ट ट्राभल मार्ट र पश्चिममा वेस्ट ट्राभल मार्ट आयोजना गर्ने योजना बनाइएको जानकारी दिनुभयो । लोकप्रिय गन्तव्यमा विदेशी पर्यटन व्यवसायी, विदेशी सञ्चारकर्मी तथा ब्लगर बोलाएर मार्ट सञ्चालन गर्ने र त्यसमार्फत पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बोर्डले भ्रमण वर्षको अवधिमा पर्यटनसँग सम्बन्धित केही ठूला ‘इभेन्ट’ नेपालमा आयोजना गर्ने जनाएको छ । ‘वल्र्ड ट्रेल नेटवर्क’ सन् २०२० मा नेपालमा आयोजना हुने भएको छ । यो संसारभरका ट्रेकिङ–ट्रेल व्यवसायीको वार्षिक ‘कन्क्लेभ’ हो । त्यस्तै, ‘वल्र्ड इको टूरिजम कन्क्लेभ’, पनि नेपालमा आयोजना गरिनेछ । ‘माइस टुरिज्म’ र ‘सिनेमा टुरिज्म’ लाई विशेष प्राथमिकता दिइनुका साथै फोटो र भिडियोलाई बढीभन्दा बढी प्रवद्र्धन गर्ने योजना बनाइएको छ ।

काठमाडौँ मिथिला फेस्टिभल आयोजना गरिने तथा देशभरका धामी झाँक्रीलाई काठमाडौँमा जम्मा गरे प्रदर्शनी गर्नेजस्ता कार्यक्रम पनि बजेटमा समेटिएको छ । इलाम, नारायणी नदीतटजस्ता क्षेत्रको सम्भाव्यता अध्ययन गरी सम्भावित पूर्वाधार निर्माणको अध्ययन गरिनेछ । यस वर्ष ‘टुरिज्म स्याटेलाइट सिटी’ को पनि अध्ययन गरिनेछ । यसमा प्रदेश सरकार र योजना आयोगलाई लगानीका लागि प्रेरित गरिने उल्लेख छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार २२:२५