६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक, एक करोड ५१ लाख ४५ हजार रूपैयाँ ऋण


२४ भदाै, काठमाडाैँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानसेनापति थापाले आज नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा उहाँको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो । थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा छ । थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको छ ।

यस्तै प्रधानसेनापति थापाको नेपाल इन्भेष्टमेन्ट बैंकमा रु १६ लाख ६१ हजार, सोही बैंकमा पाँच हजार नौ सय अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा रु ४२ हजार र श्रीमतीको नाममा मेघा बैंकमा रु ५० हजार रहेको छ । श्रीमतीको नाममा मेघा बैंकको २४ हजार कित्ता प्रमोटर र नौ हजार साधारण शेयर रहेको छ भने डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता शेयर रहेको उल्लेख छ । उहाँले ग्लोबल आइएमईबाट रु १८ लाख, कल्याणकारी कोषबाट रु पाँच लाख, एनबी बैंकबाट रु ९८ लाख र लक्ष्मी बैंकबाट रु ३० लाख ४५ हजार विभिन्न मितिमा ऋण लिएको देखिएको छ । उहाँसँग फिगो फर्ड कार रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार २२:१६