१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपाले पार्टी एकताको बाँकी काम भोलि टुंग्याउने, अपराह्न ४ बजे सचिवलय बैठक बोलाइयो


२४ भदाैँ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बुधबार बस्ने भएको छ । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी गराउनुभयो ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहनुभएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत भदौ ९ गते बैठक बसेको थियो । नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन् ।

दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो । यसैगरी सोही बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णयसमेत गरेको थियो । प्रधानमन्त्री उपचार गरेर फर्केपछि पहिलोपटक भोलि सचिवालयको बैठक बस्न लागेको हो । उहाँ उपचारका लागि सिङ्गापुर जानुभएको दिन गत भदौ ५ गते पनि सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार २२:०५