१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मलेसिया रोजगारीमा फेरि पनि गरिब नेपालीको पसिना चुस्दै आएका दलालहरूको चलखेल तीव्र


-पवित्रा मुडभरी 

२४ भदौ, काठमाडौँ । मलेसिया रोजगारीको सम्बन्धमा दलालहरूको चलखेल फेरि तीव्र भएको छ । गरिब नेपाली युवाहरूबाट लुट्न पल्केका दलालहरूले दुई देशकबीचको प्राविधिक टोलीको बैठकलाई समेत प्रभावित पार्न प्रचारवाजी गर्दै अनेक चलखेल गरिरहेका छन ।  वार्षिक १४ अर्ब रूपैयाँ भन्दा बढी पैसा गरिब नेपालीको रगत र पसिना चुस्दै आएका दलालहरूले रोजगारीको विषय टुंगोमा पुग्ने तरखरमा रहेको अवस्थामा फेरि चलखेल सुरू गरेका हुन । तर उनीहरूको चलखेल विगतमा जस्तै असफल हुने निश्चित प्रायः देखिन्छ । किनकी नेपाल सरकार सुरूको अडानमै कायम रहेको छ ।

नेपाली कामदार लैजाने विषयमा नेपाल सरकार र मलसिया सरकारबीच यसअघि भएको दुई देशको मन्त्रीस्तरमा भएको सम्झौता कार्यान्वयन गराउने अन्तिम तयारी स्वरूपमा प्राविधिक टोलीको बैठक हाल मेलिसयामा जारी छ । आजबाट सुरू भएको बैठक बुधबारसम्म चल्ने छ । यो बैठकले रोजगारी खुलाउनेबारेमा बाँकी रहेका सबै विषय टुंगो लगाउने तयारी छ ।

यसअघि श्रम, रोजागर तथा सामाजिक सरक्षा मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै मन्त्री गोकर्ण विष्टले नेपाली युवाहरूलाई ठगिन नदिने भन्दै वैदेशिक रोजगारीमा रहेको सिण्डिकेट अन्त्य गर्ने घोषणा गरेका थिए । मलेसियाद्वारा श्रमिकलाई आर्थिक भार थोपर्ने गरी वभिन्न बाहनामा रकम असुल्न खडा गरेको ५ वटा कम्पनीले लिने शुल्कलाई मन्त्री विष्टले खारेज गरेका थिए ।

भिसा लगाउने प्रक्रियाका लागि मलेसियाले नेपाल सरकारसँग सहमति नलिई जबर्जस्ती ५ कम्पनीमार्फत शुल्क उठाउँदै आएको थियो । प्रति कामदार १८ हजार ८ सय रुपैयाँ असुल गरिदैँ आएको थियो । पछि नेपाल प्रहरीले श्रम मन्त्रालयसँगको समन्वयमा मलेसिया रोजगारीमा खडा गरिएको सिण्डिकेट माथि कानुनी कारबाही अघि बढाएको थियो । सोही समयमा विभिन्न नाममा ३९ वटा सिण्डिकेटधारी संस्थाका सञ्चालकहरूलाई माथि कारबाही अघि बढाइएको थियो ।

नेपालले मलेसिया रोजगारीमा रहेको सिण्डिकेट अन्त्य गरेसँगै मलेसिया सरकारले पनि आफ्नो तर्फबाट सिण्डिकेट अन्त्यको घोषणा गर्दै विगतको कमजोरी सच्याउने काम गरिरहेको छ । उसले आफ्नै पूर्व प्रधानमन्त्री र गृहमन्त्री समेतलाई यही प्रकरणमा थुनामै राखेर कारबाही अघि बढाएको छ । मलेसियाले आफ्नो श्रम कानुन ६४ वर्ष संशोधन गर्न संसदमा प्रस्ताव पेश गरेको छ । मलेसियाले तत्कालीन अवस्थामा सिण्डिकेट खडा गरी कामदारको शोषण भएको पुष्टि भएपछि कामदार आपूर्ति गरिरहेको नेपाल, बंगलादेश, भारत, श्रीलंका, फिलिपिन्स, इन्डोनेशिया लगायतका १६ वटा मुलुकबाट कामदार लिन रोकेको छ । सिण्डिकेट खडागरी कामदारको रगत पसिना चुसेको भन्दै मलेसियाको संसदमा समेत सांसदहरूले चर्को रूपमा बिरोध गरि छानविनको माग गरिरहेका छन ।

नेपालको संसदमा समेत केही साता अघिमात्र वैदेशिक रोजगार व्यसायको नाममा भैरहेको ठगीबारे राम्रो जानकारी राख्ने नेपाल प्रहरीका पूर्व नायव प्रहरी महानिरीक्षक एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवालले मलेसिया प्रकरणमा नेपाली युवाहरूबाट लुट्ने दलालहरूलाई कारबाही गर्न माग गरेका थिए । उनले विगतमा सिण्डिकेटमा नाममा गरिब युवाहरू लुट्नेहरू फेरि त्यसैगरी लुट्न पाउँ भन्दै सक्रिय भएको भन्दै आँखा चिम्लिर नबस्न गृह प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यस्तै नेकपाकै अर्का सांसद एलबी सावाँ लिम्बुले पनि ठगी प्रकरणमा संलग्न भएकालाई कारबाही गर्न पटक पटक माग गर्दै आएका छन ।

तीन महिनाभित्रमा सबै प्राविधिक विषय टुंगोमा पुर्याएर रोजागरी खुलाउने नेपाल र मलेसिया सरकारो अन्तिम तयारी प्रभावित गराउन अहिले तीनै सिण्डिकेटधारी दलालहरूले चलखेल गरिरहेका छन । त्यतिखेर पक्राउ परेर छुटेका वैदेशिक रोजगार व्यवसायी राम श्रेष्ठ र प्रहरीको रेकर्डमा फरार अभियुक्तको सूचीमा रहेका कैलाश खड्काले तत्काल मलेसियाको रोजगारी खोल्न नदिने गरी मलेसियाका अघिकारीसँग समेत लबिङ गरिरहेका छन ।

कैलाश खड्का नेपाली कांग्रेस नेता समेत हुन । उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकटका नेता हुन । उनले देउवा पत्नी समेत रहेकी डा आरजु देउवा राणालाई १० प्रतिशत कमिसन दिनुपर्छ भनेर पहिला अन्य मेडिकल व्यवसायीसँग समेत रकम असुल गर्ने गरेको पछि वयवसायीहरूले नै बताएका थिए । उनीहरूकका अनुसार खड्काले मासिक २ लाखका दरले राजनीतिक सेटिङका नाममा पैसा उठाउने गरेका थिए । त्यस्तै मलेसिया प्रकरण तत्कालन खोल्न नदिएर सरकारलाई असफल बनाउने योजनामा अहिले उनीहरू लागेका छन । यस योजनामा साथ दिने अन्य म्यानपावर व्यवसायीहरूमा रोहन गुरूङ, हेम गुरूङ, वाइ बी राई, रविन गुरूङ लगायत रहेका छन ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १७:४०